तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री, तर उपभोक्ता अझै मारमा

काठमाडौं, १७ चैत । कोरोना भाइरस (कोभिड १९) का कारण देशभर खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको छ । उपभोक्ताले ग्यास नपाएको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल अयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात १४ दशमलव २ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको थियो ।

लकडानका बेलामा पनि शुक्रबार ३३ हजार ६ सय ५८, शनिबार १४ हजार एक सय आठ सिलिण्डर र आइतबार ३९ हजार आठ सय ६४ सिलिण्डर ग्यास वितरण गरिएको उहाँले जानकारी दिनुभयो । औसतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा मार्च महिना ९फागुन १८ देखि चैत १५० अहिलेसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ ।

निगमले उपभोक्ताले अनावश्यक रुपमा ग्यासको मौज्दात राखेको भन्दै आइतबार अपराह्न १ बजेपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ । निगमको निर्देशन अनुसार अपराह्नपछि आधा सिलिण्डर मात्रा वितरण भएको ग्यास बिक्रेता महासङ्घले जनाएको छ ।

महासङ्घका कोषाध्यक्ष राजेश दाहालले सोमबारदेखि बजारमा ग्यासको सहज आपूर्ति भएको जानकारी दिनुभयो ।
उपभोक्ताको समस्यालाई ध्यानमा राखी नेपाल ग्यासले बालाजु औद्यौगिक क्षेत्रबाट नै एक हजार सिलिण्डर ग्यास वितरण गर्ने भने पनि त्यो सङ्ख्याको ग्यास धेरै माग भएका डिपोमा पठाउँदा उपभोक्तालाई सहज हुने उहाँले तर्क राख्नुभयो । उपभोक्ता घरभित्रबाट बाहिर निस्कन सक्ने अवस्था नभएको र उद्योगवाट वितरण गर्दा प्रभावकारी नहुँदा गुनासो बढी आएको स्थानमा वितरण गर्न उहाँले आग्रह गर्नुभयो ।

निगमले हजारौंँको संख्यामा ग्यास सिलिण्डर वितरण गरेको जिकिर गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास पाएका छैनन् । आखिर कहाँ गएका छन् ती ग्यासहरु ।

प्रतिक्रिया दिनुहोस्