रुकुममा प्राविधिक शिक्षाको नाममा ठगी धन्दा बढ्दै

काठमाडौं । रुकुममा प्राविधिक शिक्षाको नाममा ठगी धन्दा बढ्दै जान थालेको छ । रुकुमको सदरमुकाम मुसिकोटमा विभिन्न व्यक्ति र संस्थाहरुले प्राविधिक शिक्षाको नाममा ठगीधन्दा चलाउँदै आएको फेला परेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी को क्षेत्रिय कार्यालय कोहलपुरले गरेको अनुगमनका क्रममा प्राविधिक शिक्षाका नाममा ठगी हुँदै आएको फेला परेको हो ।

अनुगमन टोलीले साराँशी टेक्निकल इन्स्टिच्यूट, रुकुम मल्टि टेक्निकल इन्स्टिच्यूट, स्यार्पू पोलिटेक्निकल इन्स्टिच्यूट र वेष्टर्न नेपाल टेक्निकल इन्स्टिच्यूटले कानुनी प्रक्रिया नपुर्‍याई विद्यार्थीबाट महंगो शुल्क लिएर विद्यार्थीलाई ठगेको जनाएको छ ।

मुसिकोटमा सञ्चालित सबै प्राविधिक शिक्षालयहरु अवैधानिक भएको रहस्य खुलेपछि त्यस्ता संस्थालाई कारबाही गर्न माग गर्दै प्रशिक्षार्थीहरु विरोधमा उत्रिएका छन् ।

प्राविधिक कलेजहरुले रुकुमका विभिन्न विद्यार्थीलाई महंगो शुल्क लिएर कृषि प्राविधिक, विद्युत, कम्प्युटर, नेटवर्किंङ, जेटिए लेवल टु लगायतका विषयमा पढाउँदै आएका थिए ।

अवैध रुपमा खोलिएका प्राविधिक शिक्षालयले खुलेआम विद्यार्थीको भविष्यमाथि खेलवाड गरी ठगी गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोधसमेत गरेका छन् । उनीहरुले ठगी गर्नेहरुलाई कडा कारबाहीको मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्