नेता नेपालले दिए दैनिक काम गरेर गुजारा चलाउनेको विवरण संकलन गर्न निर्देशन

काठमाडौँ , चैत १६ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दैनिक काम गरेर गुजारा चलाउनेको विवरण संकलन गर्न निर्देशन दिएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका दैनिक ज्यालादारी गरी जीविको पार्जन गर्नेको विवरण संकलन गर्न निर्देशन दिएकाहुन्।

नेता नेपालले आइतबार काठमाडौँ २ भित्र पर्ने शंखरापुर, कागेश्वरी मनोहरा, महानगरका ९ र ३२ नम्बर वडाका जनप्रतिनिधि एवं नेकपाका स्थानीय नेतालाई फोन गरी विवरण संकलन गर्न भनेका हुन् ।

तत्काल राहत आवश्यक पर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुका लागि सहयोग गर्ने उद्देश्यसहित नेता नेपालले विवरण संकलन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

शुक्रबार नेता नेपालले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी दैनिक काम गरेर जीविको पार्जन गर्ने नागरिकका लागि राहत घोषणा गर्न सुझाव दिएका थिए।

मन्त्रिपरिषद्को बैठकले विपन्न वर्गका लागि राहत घोषणा गर्ने तयारीसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्