इन्डक्सन चुल्होमा खाना पकाउँदा २० प्रतिशत छुट

काठमाडौं, १३ चैत । अब लकडाउनको समयमा विद्युतीय चुल्हो (इन्डक्सन) मा पकाउनेलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ । यो बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई खुशिको कुरो हो । विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।

इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जा मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत निर्देशन दिएका छन् ।

इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म छुट दिन मन्त्री पुनको निर्देशन छ ।
कोरोना भाइरस ९कोभिड–१९ ० को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएपछि मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’

मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे । ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, उनले भने, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ ।’

विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्री पुनको भनाइ छ । यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले बताए ।

यसअघि बुधबार बसेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्दै आएको थियो । यसले आम उपभोत्ताहरुलाई केहि राहत हुने छ ।

प्रतिक्रिया दिनुहोस्