कोरोनाको केन्द्रविन्दु मानिएको चीनको हुबेईमा लकडाउन हटाइदै
काठमाडौं, चैत ११ । कोरोनाभाइरसको महामारीको शुरुवातको केन्द्रविन्दु मानिएको चीनको हुबेई प्रान्तमा बुधबारदेखि लकडाउनका प्रतिबन्धहरु हटाउने तयारी गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
प्रान्तको राजधानी ऊहान भने अप्रिल ८ सम्म प्रतिबन्धहरु कायम रहने वेइबोमा अधिकारीहरुले बताएका हुन् ।गत डिसेम्बर ऊहानमा भेटिएको पहिलो ‘रहस्यमय’ रोग नै यतिबेला कोभिड–१९ को महामारी बनेको छ ।सोमबारको अन्त्यसम्म हुबेईमा ६७ हजार ८०१ जना संक्रमित भेटिएका छन् भने यसबाट ३ हजार १६० जनाले ज्यान गुमाइसकेका छन् ।
तर, अहिले नयाँ संक्रमितको सङ्ख्या निकै कम भइसकेको छ । पछिल्ला ६ दिनमा त्यहाँ एक जनामात्र संक्रमित फेला परेका छन् ।चीनभरमा यस भाइरसबाट ८२ हजारभन्दा बढी संक्रमित बनेका छन् भने ३२ सय ७७ जनाको मृत्यु भएको छ । तीमध्ये ७३ हजारभन्दा बढी स्वस्थ बनेर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्