विराटनगर ११ गतेदेखि अनिश्चितकालीन लक डाउन

काठमाडौं, १० चैत । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्न संयन्त्र अपनायँदै विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर लक डाउन क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकका पसलहरू बन्द हुने जानकारी दिए । ‘सरोकारवाल सबैको आव्हानमा कोरोना भाइरसको संकटबाट जोगिन लकडाउनको निर्णय गरेका हौँ,’ प्रमुख पराजुलीले भने, ‘यसका लागि हामीले सबै व्यावसायिक संघसंस्थासित बसेर छलफल गर्यौं र उहाँहरू कै सहमतिमा लक डाउनको निर्णय लियौं ।’

महानगरपालिकाले यसअघि गत शनिबारदेखि विराटनगर क्षेत्रभित्र लाग्दै आएका साप्ताहिक हाटबजार बन्द गरेको थियो ।

लक डाउनका लागि खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघ लगायतका २ दर्जन संघसंस्थाका प्रतिनिधिसँग बैठक गरेर यस्तो निर्णय लिइएको उनले जानकारी दिए । लक डाउन गर्नेबारे व्यवसायीक संघ संस्थाका प्रतिनिधिहरुले सहमति गरेका कारण उनीहरुकै मागलाई सम्बोधन गदै महानगरले औपचारिकता मात्र पूरा गरेको उनको भनाइ छ ।

मेयर पराजुलीले नगर क्षेत्रमा लक डाउन गरिने भएपनि खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सञ्चालनमा रहने बताए । अत्यावश्यक परेका यात्रुलाई मात्र सिटी रिक्सा र रिक्सा प्रयोग गर्न तथा चालकले मास्क अनिवार्य लगाउनु पर्ने निर्णय पनि गरिएको छ । यसले कोरोनालाई नियन्त्रणलाई सहयोग पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्