नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिए पुष्टी, सावधानी अपनाएर भाइरस फैलिन नदिन सबैलाई अपील

काठमाडौं, १० चैत । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । १९ वर्षिया टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिइन् ।
तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ ।
स्वास्थ्यमन्त्री ढकालले धैर्य नगुमाउन र सावधानी अपनाएर कोरोना भाइरस फैलिन नदिन सबैलाई अपील गरेका छन् ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्