कालिकोट भाइरल ज्वरो, नमुना काठमाडौं पठाइयो
काठमाडाै । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
कालिकोटको खाडाचक्र ४ मा भाइरल महामारी फैलिएको खाडाचक्र ४ ताडी घटाली गाउँसहितका टोलबाट ४ बालबालिका र २ वयस्क गरी ६ बिरामीको घाँटीको पानी संकलन गरी काठमाडौं पठाइएको हो ।
खाडाचक्र २ र ४ वडामा शनिबार परीक्षण गर्दा ८ सय १४ बिरामी फेला परेका थिए । तीमध्ये गम्भीर अवस्थामा रहेका ६ जनाबाट नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘महामारीले चर्को रूप लिएको बस्तीका ६ जनाको स्याम्पल पठाएका हौं,’ अलीले भने, ‘गाडीमार्फत सुर्खेत पठाएका छौं, त्यहाँबाट विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले काठमाडौं लैजाने छन् ।’ काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएपछि मात्र रोगका बारेमा यकिन हुने उनले बताए ।
बिरामीमा देखिएको लक्षणका आधारमा जिल्ला स्वास्थ्यले भाइरल ज्वरो भएको अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्