कोरोनाविरुद्ध लड्न अमेरिकाले गर्यो नेपाललाई १८ लाख डलर सहयोग गर्ने घोषणा

काठमाडौं , चैत ७ । कोरोनाको भाइरसले विश्वको अर्थतन्त्रमा पनि असर गरेको छ । यसैबीच अमेरिकाले कोरोना भाइरससँग लड्न नेपाललाई १८ लाख डलर सहयोग घोषणा गरेको छ । अमेरिकी दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार यो रकम अमेरिकी अन्तर्रा्ष्ट्रिय विकास नियोग (युएसएआइडी)को संक्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्चित कोषको एक हिस्सा हो ।

सहयोगमध्येको करिब ११ लाख डलर कोभिड–१९ को रोकथामका लागि समुदायलाई शिक्षित बनाउन र कोरोनाबारे गलत जानकारीविरुद्ध लड्न युएसएआइडीका चालू स्वास्थ्य कार्यक्रम विस्तार गर्न प्रयोग हुनेछ । सात लाख डलर विश्व स्वास्थ्य संगठनमार्फत कार्यान्वयन भएका कार्यक्रममा सहयोग हुने जनाएको छ ।

यसअघि २३ फागुनमा अमेरिकी सरकारका तर्फबाट तीन हजार मास्क, अनुहार सुरक्षित गर्ने ढाल दुई हजार पाँच सय थान, जुत्ता ढाक्ने खोल दुई हजार थान नेपालले पाइसकेको छ । त्यस्तै, दुई हजार एक सय थान सर्जिकल टोपिस, हजार थान ट्राउजर तथा ट्युनिक्स, १० थान थर्मो फ्ल्यास थर्मो्मिटर हस्तान्तरण गरेको थियो । यति बेला कोरोना सँग विश्व नै लडिरहेको छ । विभन्न देशले विभन्न छिमेकी मुलुकलाई पनि सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्