सरकारको ठहर- कोरोना भाइरसको उच्च जोखिम भारतबाट, नाकामा कडाइ गर्ने निर्णय

काठमाडौं, चैत ६ । सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम भारतबाट हुनसक्ने ठहर गरेको छ।चीनबाटै सुरु भएको कोरोना संक्रमणको अहिले सो देशमा भने कम देखिएको छ। उत्पति केन्द्र वुहानमा समेत थप बिरामी नदेखिएपछि नेपाल सरकारले भारतीय नाकामा कडाइ गर्ने निर्णय गरेको छ।

सशस्त्र प्रहरी बलले सीमामा हेल्थ डेस्क स्थापना गरेपछिको तथ्यांकअनुसार ३ लाख १० हजार नेपाल प्रवेश गरेका छन्। त्यसमध्ये भारतीय नागरिक २ लाख भारतीय नागरिक छन्। भारतीय नागरिकको स्वास्थ्य परिक्षण गर्दा ५६ जनालाई ज्वरो देखिएपछि फिर्ता गरिएको छ।

भारतसँग आवातजावत गर्ने नाकाहरुमा भारतीय नागरिकको परिक्षणमा उच्च सर्तकता अपनाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले निर्णय गरेको छ। दुई देशका परराष्ट्र अधिकारीहरुबीच नाकामा आवातजावातलाई व्यवस्थित गर्ने विषयमा छलफलसमेत भएको छ। छलफलको निष्कर्ष बिहीबार साँझसम्ममा आउने बताइएको छ।

गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी र भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ सहभागी भएको बैठकले उक्त निर्णय गरेको हो। सचिवहरु, सुरक्षा निकायका प्रमुख र स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभागका प्रमुखले आफू मातहतका कार्यालयले कोरोना भाइरसका संक्रमणका लागि पूर्व सचेतनाका लागि अपनाएका विषयमा जानकारी गराएका थिए। गृहमन्त्री थापाले तीनै सरकारका तहले भाइरसको संक्रमणबाट बच्न उच्च तयारी गरेको जानकारी दिए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नेपालमा हालसम्म ५ सय १२ को कोरोना भाइरस संक्रमणको परिक्षण गरिएको जानकारी दिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४० जना, कीर्तिपुरस्थित आयुर्वेद अस्पताल र कीर्तिपुर अस्पतालमा गरी २ सय ५० जना गरी काठमाडौंका अस्पतालमा १०० जनाका लागि आइसोलेसन वार्ड तयार भएको जानकारी दिए। साथै, वुहानबाट फर्काइएका नेपालीहरुलाई राखिएको भक्तपुरस्थित खरिपाटीमा ८ सय जनालाई क्वारेन्टाइनमा राख्न सकिने गरी तयारी गरिएको बताए। विभिन्न देशबाट भित्रिएका नागरिकहरुको निगरानी गर्नका लागि १०८ जना निगरानी टोली खटाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सरकारले कोरोना भाइरसको परिक्षणका लागि सरकारी अस्पतालमा निःशुल्क व्यवस्था गरेको छ। निजी अस्पतालमा समेत निःशुल्क परिक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपकालीन कार्यसञ्चालन केन्द्रको सेवालाई २४ सैं घण्टा सुचारु राखिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले दक्षिणी सीमा नाकाका १ सय ३३ स्थानमा हेल्थ डेस्क स्थापना गरेको जानकारी दिए।

खनालले नेपालगन्जमा र विराटनगरमा फिल्ड अस्पताल निर्माण गर्नेगरी तयारी भएको बैठकमा जानकारी दिए। प्रदेश १ मा १३०, प्रदेश २ मा २०० बागमती प्रदेशमा २ सय ५०,गण्डकी प्रदेश ५७, प्रदेश ५ मा २०० र सूदुरपश्चिममा १०० जनालाई क्वारेन्टाइनमा राख्न सकिनेगरी सशस्त्र प्रहरीले तयारी गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्