१ लाख १२ हजार नक्कली नोटसहित दुई जना पक्राउ, भरुवा बन्दुकसहित दुई जना समातिए

काठमाडौं, चैत ६ । प्रहरीले रामेछापबाट १ लाख १२ हजार रुपैयाँ नक्कली नोटसहिते २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका-१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका-२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् ।

उनीहरुले नक्कली नोट चल्तीमा ल्याएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न पिडित व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली नोट बरामद भएको जनाएको छ ।

साथै उनीहरुले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

भरुवा बन्दुकसहित दुई पक्राउ

यता बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित समातिएका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र सोही ठाउँका हिमलाल खत्री रहेका छन् ।

उनीहरुका साथबाट भरुवा बन्दुक, बारुद, पासो, छिनो खुकुरी, सलाईलगायतका सामग्रीसमेत बरामद गरिएको छ । उनीहरुलाई निकुञ्जको ‘कोर यरिया’भित्र पर्ने बहिबरचौर भन्ने ठाउँबाट पक्राउ गरिएको थियोे ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जमा राखिएका क्यामेराको सहायताले गुफामा लुकिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्