धितोपत्र बोर्डले भन्यो-कोरोनाबाट सेयर लगानीकर्ता डराउनु पर्दैन, हल्लाको पछि नलागी ढुक्क सँग लगानी गर्नु

काठमाडौं, चैत ५ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले सेयर बजार निरन्तर झर्न थालेपछि लगानीकर्तालाई नआत्तिन आग्रह गरेको छ।

केही दिन यता धितोपत्रको दोस्रो बजारको कारोवारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्था प्रति ध्यानाकर्षण भएको भन्दै बोर्डले बजारलाई बजारको रुपमानै चल्न दिनु पर्दछ भन्ने मान्यता राख्ने उल्लेख गरेको छ। नियमनकारी निकायको रुपमा बोर्डले सधै धितोपत्र बजारको अवस्थालाई सूक्ष्म रुपले अध्ययन समेत गरीरहेको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय धितोपत्र बजारलाई कोरोना भाइरससँग जोडेर बजार प्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भैइरहेको बोर्डले जनाएको छ। नेपालमा हालसम्म कोरोना भाइरसको प्रकोप नदेखिएको र सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न पूर्व सावधानीका विभिन्न कदमहरु चालेको उल्लेख गर्दै बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, देशको समष्टिगत आर्थिक अवस्था तथा समग्रमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै रहेको सन्दर्भमा लगानीकर्ताहरु यस्तो सामान्य अवस्थामा हतोत्साहित भई हतार हतारमा धितोपत्र विक्री सम्बन्धी निर्णय लिनुपर्ने अवस्था देखिदैन।

बोर्डले धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्ष (आधारभूत तथा प्राविधिक) को जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका काम कारबाहिहरुको अध्ययन गरेर हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन आग्रह गरेको छ।

बोर्डले कोरोनाको असर नदेखिएको बताइरहँदा राष्ट्र बैंकले भने रेमिटेन्स प्रभावित हुने र समग्र अर्थतन्त्र नै समस्यामा पर्न सक्ने आँकल गरेको छ। राष्ट्र बैंकले आर्थिक बृद्धि प्रभावित हुने प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्