एसइई परीक्षा दिनबाट २७ जना विद्यार्थी वञ्चित
काठमाडौं, चैत ४ । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् ।पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेमा २७ जनाको हाजिरी नपुगेकाले मापदण्डअनुसार उनीहरू परीक्षा दिन अयोग्य भएका हुन् ।
यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा बैतडीबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।
नियमित, ग्रेड वृद्धि र प्राविधिक धारका गरी जिल्लामा पाँच हजार ६९४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक एवं सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।
उनका अनुसार नियमिततर्फ दुई हजार ५ सय ५३ छात्र र दुई हजार ६ सय ४५ छात्रा गरी पाँच हजार १ सय ९८ परीक्षार्थी रहेका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ १ सय ७५ छात्र र ३ सय २१ छात्रा गरी जम्मा ४ सय ९६ परीक्षार्थी रहेका छन् ।
यस्तै प्राविधिक धारतर्फ नियमित र ग्रेड वृद्धि गरी जम्मा १ सय २४ जना परीक्षार्थी रहेका छन् । यसमा ९१ छात्र र ३३ छात्रा रहेका सूचना अधिकारी शर्माको भनाइ छ ।
चैत ६ गतेबाट सञ्चालन हुने परीक्षाका लागि जिल्लामा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेड वृद्धि गर्ने र प्राविधिक धारका विद्यार्थीको परीक्षा भने वीरेन्द्र मावि शाहीलेकमा हुने शर्माले बताए ।
जिल्लाभित्र रहेका १ सय १९ सामुदायिक विद्यालय चारवटा संस्थागत र एक खुल्ला गरी कूल १ सय २४ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने बताइएका छन् ।
प्रतिक्रिया दिनुहोस्