जो आए पनि गए पनि सेयर बजार प्रभावित हुनुपर्दैन : अर्थमन्त्री खतिवडा

काठमाडौं , फागुन २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन नहुने बताएका छन् ।कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुनुपर्ने भन्दै उनले त्यसमा कोही व्यक्ति आउनु र जानुले सरोकार राख्न नहुने बताए ।

प्रतिनिधिसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।उनले भने ‘कम्पनीको वित्तीय अवस्था र भावी वित्तीय अवस्था कस्तो हुन्छ भनेर सेयर खरिद गर्ने हो,सरकारले कस्तो नीति नियम बनाउँछ र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर कारोबार गर्ने हो, व्यक्तिविशेष जो आए पनि गए पनि सेयर बजार प्रभावित हुनुपर्दैन ।’

बिहीबार उक्त छलफलमा सांसदहरुले अर्थमन्त्रीको छायासँग पनि सेयर बजार डराइरहेको बताएका थिए । अर्थमन्त्री खतिवडाले भने सेयर बजारमा देखिएको पल्लो उथलपुथल कोरोना भाइरसका कारण भएको जिकिर गरे ।‘विश्वव्यापी रुपमा कोरोना भाइरस आएका कारणले सेयर बजारमा उथलपुथल देखिएको छ । यो अल्पकालीन आधारलाई हेरेर हामीले दीर्घकालीन सोच बनाउनु हुँदैन’ उनले भने ।

यसैबीच अर्थमन्त्री खतिवडाले सेयर कारोबार पुँजीपतिका लागि नभई सर्वसाधारणका लागि पनि भएको बताए । अर्थतन्त्रमा ठूलो जोखिम लिन नसक्नेहरुले सेयरमार्फत पुँजीनिर्माणमा सहभागी भइरहेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्