विश्वबजारमा तेलको मूल्यमा २५ प्रतिशतले गिरावट

काठमाडौं, फागुन २६ । विश्वबजारमा तेलको मूल्यमा २५ प्रतिशतले कमि आएको छ । साउदी अरबले मूल्य घटाउने र अप्रिलमा कच्चा तेल उत्पादनको मात्रा बढाउने निर्णय गरेसँगै विश्वबजारमा तेलको मूल्यमा गिरावट आएको हो । आज ब्रेन्ट नामक कच्चा तेलको मूल्य प्रति ब्यारेल ११ दशमलब ३१ अमेरिकी डलरले घटेको छ ।

त्यस्तै वेस्ट टेक्सास इन्टरमिडियड नामक कच्चा तेलको मूल्य २६ प्रतिशतले घटेर प्रति ब्यारेल ३० दशमलब ५५ अमेरिकी डलर पुगेको छ । उक्त गिरावट पनि सन् १९९१ पछिकै सबैभन्दा बढी हो । उक्त गिरावटसँगै विश्वबजारमा सन् २०१६ पछिकै कम मूल्यमा कच्चा तेलको कारोबार भइरहेको छ ।

तेल उत्पादन मुलुकहरूको समूह ‘ओपेक’ले कोरोना भाइरसबाट उत्पन्न चिन्ताबीच बजारलाई स्थिर बनाउन भन्दै उत्पादनमा कटौती गर्ने प्रस्ताव अघि सारेको थियो । तर ओपेकले अघि सारेको प्रस्तावप्रति रुस अनिच्छुक देखिएपछि साउदी अरब एक्लैले मूल्य घटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्