बैंकमा सुन राखेर ब्याज पाइने, राष्ट्र बैंकले गर्‍यो यस्तो व्यवस्था हेर्नुहोस्

काठमाडौं, फागुन २२ । वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले अब ब्याज पाउने भएका छन्।नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो। अब वाणिज्य बैंकहरुले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने छन्।

सुन निक्षेप संकलनका लागि बैंकहरुलाई नै विस्तृत कार्य्विधि बनाई संचालक समितिबाट पारित गरेर कार्यान्वयन गर्ने अधिकार दिइएको छ।

बैंकले नै सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्रै स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ। बैंकहरुले संकलन गरेको सुन ढुकुटीभित्र राख्ने वा व्यवसायीलाई बेच्ने सम्वन्धमा बैंकले नै निर्णय गर्न सक्ने छ।

सुन निक्षेपका रुपमा स्वीकार गर्ने शाखा तोक्नुपर्नेछ। कम्तीमा २५ ग्राम परिमाणको सुनलाई मात्रै बैंकहरुले स्वीकार गर्न सक्नेछन्। त्यसपछि सुनको जाँच गरी बैंकहरुले तौल र शुद्धता एकीन गरी प्रमाणपत्र दिने छन्।

सो प्रमाणपत्र बैंकमा धितो राखेर सोको ७० प्रतिशतसम्म कर्जा सुविधा पनि पाइनेछ। यसरी प्रवाह भएको कर्जामा बैंकले सुन धितोमा दिएको व्याजदरमा २ प्रतिशतभन्दा बढी थप्न पाउने छैनन्।

यसरी सुन निक्षेपका रुपमा संकलन गरेपछि ग्राहकलाई त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेछ। सुन जम्मा गर्दा नै सो बराबरको साँवा तथा व्याज एकीन गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी सुन निक्षेप संकलन गर्ने ग्राहकको केवाइसी विवरण बैंकले राख्नुपर्नेछ।

यद्यपी यो व्यवस्था कार्यान्वयनका लागि चुनौतिपूर्ण रहेको बैकर बताउँछन्।

प्रतिक्रिया दिनुहोस्