अर्थमन्त्री खतिवडाको पुनरागमनसँगै ६८ अंकले घट्यो नेप्से

काठमाडौं, फागुन २१ । अर्थमन्त्रीमा युवराज खतिवडाको पुनरागमनसँगै सेयर बजार मापक नेप्से आज ६८.४७ अङ्‌कले घटेको छ। लगानीकर्ताले अर्थमन्त्री खतिवडाको पुनरागमनलाई त्यति नरुचाएको सङ्‌केत गरेको छ। त्यसैले नेप्से ओरालो लागेको ब्रोकरको भनाइ छ।

नेप्से घटेर १४४१.२० अङ्‌कमा आएको छ। यसअघि निरन्तर बढेर १६३२.१७ अङ्‌कमा पुगेको थियो।आज (बुधबार) २ अर्ब ९० करोड ८४ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज सबै समूहको सूचक ओरालो लाग्न पुग्यो। सबैभन्दा बढी जीवन बिमा कम्पनी समूहको सूचक ४५६.९६ अङ्‌कले ओर्लियो। यसैगरी, निर्जीवन बिमा कम्पनी समूहको सूचक पनि ४०६.९५ अङ्‌क र लघुवित्त कम्पनी समूहको सूचक पनि १४८.२५ अङ्‌कले घट्न पुग्यो।

कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। उक्त इन्स्योरेन्सको २६ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच हुन पुग्यो। यसैगरी, दोस्रो र तेस्रो बढी कारोबार हुनेमा क्रमशः एनएमबि बैंक र हिमालयन डिस्टिलरी छन्। एनएमबि बैंकको १३ करोड ८९ लाख र हिमालयन डिस्टिलरीको १२ करोड २२ लाख रुपैयाँको सेयर कारोबार हुन पुग्यो।

गत हप्ता लगातार उच्च अंकका साथ उकालो लागेको बजार यो साता भने ओरालो लागिरहेको छ ।सोमबार ९४ अंकले ओरालो लागेको बजार मंगलबार १४ अंकले उकालो लागेको थियो । आज भने फेरि घटेको हो ।

हिजो अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका कारण बजारले केही राहत महसुस गरे पनि आज उनी पुनः नियुक्त भएसँगै बजार ओरालो लागेको विश्लेषण गरिएको छ।

सेयर बजारप्रति अर्थमन्त्री खतिवडाको धारणा नकारात्मक रहेको लगानीकर्ताले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्