कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? अस्पतालले दियो यस्तो प्रतिक्रिया

काठमाडौं , फागुन २० । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको बताएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु मिर्गौला प्रत्यारोपण तयारीका लागि यस अस्प्तालमा भर्ना हुनुभएको दोस्रो दिन । उहाँलाई प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन सुरु गरिएको छ । साथै, विभिन्न विषयका विशेषज्ञहरुबाट उहाँको स्वास्थ्य परिक्षण गरिएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परिक्षणहरु गरिने क्रम जारी छ । हालसम्म उहाँको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उहाँ विशेषज्ञहरुको निरन्तर निगरानीमा हुनुहुन्छ ।”

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेबाट सुरु गरिने भएको छ ।त्यसका लागि चिकित्सकले सम्पूर्ण तयारी पूरा गरेको जानकारी गराएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. अरुण सायमीले प्रधानमन्त्रीको मनोवल उच्च रहेको जानकारी गराउँदै भने, “प्रधानमन्त्रीज्यू उच्च मनोवलमा हुनुहुन्छ । हामी बरु अलिकति चिन्तित छौं तर उहाँले चिन्ता गर्नुपर्दैन । एकसातामा क्याबिनेट चलाउँछु भन्नुभएको छ ।”

कम्तिमा पनि चारघण्टा प्रत्यारोपणमा लाग्ने जनाइएको छ ।प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सबै अहिले नेपाली चिकित्सक टोलीले नै गर्नेछ । “सबै काम नेपाली टिमले नै गर्छ,” सायमीले भने, “प्रधानमन्त्रीको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरेका चिकित्सक पनि आउनुभएको छ । तर उहाँ सपोर्टको लागि मात्रै । आज डायलासिस भयो । भोलि ९ बजे प्रत्यारोपण सुरु हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्