विद्यार्थी बिरामी हुन थालेपछि एकहप्ता विद्यालय
काठमाडौं, फागुन २० । धनकुटामा विद्यार्थी बिरामी हुन थालेपछि एकाहप्ताका लागि विद्यालय बन्द गरिएको छ । चौविसे गाउँपालिका २ केराबारीमा बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी मंगलबारदेखि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले बताए। बिरामीहरू पूर्ण रूपमा निको नभएसम्मका लागि विद्यालय बन्द गरिएको र सबैमा जानकारी दिएको विद्यालयले जनाएको छ ।
गत आइतबार २ जना विद्यार्थी कक्षाकोठामा झोक्रने, रुघाखोकीको समस्या देखिएको र सोमबार एकैदिन १२ जना बिरामी भएपछि भने विद्यालय नै बन्द गर्नु परेको विद्यालयका प्रधानाध्यापक महेश सिंहले जानकारी दिए।
विद्यार्थीहरूमा झोक्रने, खोकी लाग्ने, हिड्न नसक्ने, नबोल्ने खालको लक्षण देखिने गरेको उनले जानकारी दिए। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको सहमतिमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक सिंहले बताए। कक्षा १ देखि ३ सम्म सञ्चालन भएको विद्यालयमा यसरी बिरामी हुनेमा सबै कक्षाका विद्यार्थी रहेका छन।
विद्यालयमा गएर विद्यार्थीको जाँच गर्दा मौसमी रुघाखोकीको समस्या देखिएको मुढेबास स्वास्थ्य चौकीका इन्चार्ज योगराज लिम्बूले बताए। विद्यालयमा देखिएको समस्या समाधानका लागि जिल्लास्तरमा सहकार्य गर्ने तयारी गरिएको वडाध्यक्ष ममिन्द्र लिम्बूले बताए। यसरी विद्यार्थी बिरामी पर्न थालेपछि उनीहरुको पढाइमा भने केहि असर परेको छ ।















प्रतिक्रिया दिनुहोस्