नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, कारवाहीको माग

काठमाडौं , फागुन १८ । अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंमा उजुरी परेको छ । चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले अनमोलविरुद्ध कारबाहीको मागसहित गत साता नै उजुरी हालेका हुन् ।

अभिनेता अनमोल केसी यतिबेला नयाँ चलचित्रको छायांकनका लागि पोखरामा छन् । शुक्रबार मात्र उनी चलचित्र ‘ए मेरो हजुर–४’को छायांकनका लागि पोखरा गएका हुन् । उनी पोखरा गएपछि निर्माता जयन श्रेष्ठले कारबाहीका लागि प्रहरीले थप अनुरोध गरेका हुन् ।

जयन र रुपेशले निर्माण गर्ने भनिएको चलचित्र ‘धुपौरे’ लागि अभिनेता अनमोल केसी ४० लाख पारिश्रमिकमा गत ३ असोजमा अनुबन्धित भएका थिए । मंसिरबाट छायांकन सुरु गर्ने भनिएको यो चलचित्रको स्कृप्ट चित्त नबुझेपछि अनमोलले धुपौरे खेलेनन् । फिल्मको स्कृप्ट परिमार्जन गरेको खण्डमा मात्र काम गर्ने अनमोलले बताए । त्यसपछि अनमोल अन्य दुईवटा सिनेमा ‘ए मेरो हजुर–४’ र ‘पारस’मा अनुबन्धित भइसकेका छन् ।

चलचित्रका लागि ५ लाख रुपैयाँ पेस्की लिएर फिल्मको काम पनि सुरु नगरेको र अन्य सिनेमामा धमाधम काम सुरु गरेको भन्दै धुपौरेका निर्माताले अनमोलविरुद्ध उजुरी दिएका हुन् ।

अनमोलले समयमै काम नगर्दा आफूहरूलाई करिब ३० लाख रुपैयाँ घाटा भएको यी निर्माताको भनाइ छ । साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको चलचित्र धुपौरेको स्कृप्टकै कारण अनमोलले नखेलेपछि सो चलचित्रको काम रोकिएको छ । यता प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्