भक्तपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

काठमाडौं, फागुन १७ । भक्तपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ परेका छन् ।
भक्तपुर प्रहरीले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित नेकपाका दुई पूर्व भक्तपुर जिल्ला सेक्रेटरी कुशल बोगटी र बुद्धिलाल पुनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाका शंकास्पद गतिविधि गर्दै आएका कालीकोटको रुक्सा गाउँपालिका ४ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ निकोसेरा बस्ने ३१ वर्षीय बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका ५ जुँगार घर भई हाल मध्यपुर थिमि नपा २ बस्ने ३७ वर्षीय पुन रहेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनीहरुलाई फरक फरक ठाउँबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।‘भक्तपुरस्थित भिन्नभिन्न ठाउँमा सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका कार्यकर्ताहरुले शंकास्पद गतिविधिहरु गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरी उनीहरुलाई नियन्त्रणमा लिइएको हो’, उनले भने ।

उनीहरुलाई फेला पारी सोधपुछ गर्ने क्रममा बोगटी र पुनले प्रहरी कर्मचारीहरुलाई उल्टै गालीगलौज तथा अनावश्यक हैरानी दिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्