आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायित्वलाई एकसाथ लैजानुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं , फागुन १६ । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन् ।नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तर्रा्ष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायित्वलाई एकसाथ लैजानुपर्ने बताए  ।

उनले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालू आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताए । उनले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई समान रुपले बढाउन वित्तीय संघीयताको कार्यान्वयनमा जोड दिए । मुलुकमा वित्तीय संघीयता लागू भइसकेको र सरकार त्यसमा सफल हुँदै गएपनि केही गैह्र बैंकिङ क्षेत्रका कारण समस्या भइरहेको संकेत गरे ।

उनले पछिल्लो समय नेपालमा छायाँ बैंकिङको प्रवृत्ति हावी भएको र वाणिज्य बैंकले गर्ने काम अन्य गैह्रबैंकिङ संस्थाहरुले गर्न थालेको बताए । उनले फरक–फरक नाउँमा बैंक, वित्तीय संस्था र गैह्रबैंकिङ संस्थाले एउटै काम गर्दा, सरकार, केन्द्रिय बैंक र जनता अलमलमा परेको बताए ।

उनले बैंकिङ गतिविधि मात्र वित्तीय समावेशिकरण नभएकाले बीमा कम्पनीहरुले जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्थाहरु जोखिममा पर्नसक्ने बताए । अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपमा अगाडि बढाउन चुनौती देखा परेको बताए ।

उनले सरकार व्यववसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले बजार असफल भएमा सरकार समेत असफल हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर उच्च आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्