शेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार : नाघ्यो चार अर्ब
काठमाण्डौ , फागुन १४ । शेयर बजारमा आज अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ ।आज कारोबार बन्द हुँदासम्म ४ अर्ब १५ करोड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँको कारोबार भएको हो ।
यसअघि गएको आइतबार ३ अर्ब ६० करोड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै रकमको कारोबारको कीर्तिमान बनेको थियो । त्यसअघि फागुन ८ गते बिहीबार एकैदिन २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको थियो जुन त्यस बेलासम्मको उच्च कारोबार थियो ।
आज दिनभर ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर किनबेच भएका छन् ।नेप्से परिसूचक पनि आज अस्वभाविक बढेको छ । परिसूचक झण्डै ५१ अंकले बढेर १५ सय ९६ दशमलव १३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
नेप्से परिसूचक आज ३ दशमलव ३ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९१ प्रतिशतले बढेको छ । पछिल्लो समय नेप्से कारोबार माथि उक्लने क्रम जारी रहेको छ ।















प्रतिक्रिया दिनुहोस्