मुलुकमा संस्थागत र नीतिगत भ्रष्टाचार बढ्यो: कमल थापा
काठमाडौं, फागुन १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारकै संलग्नतामा मुलुकमा संस्थागत र नीतिगत भ्रष्टाचार बढेको बताएका छन् ।
धनगढीमा शनिबार पत्रकारसँग कुरा गर्दै थापाले पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटा अडियो प्रकरणले संस्थागत भ्रष्टाचार बढेको पुष्टी भएको बताए । आमुल परिवर्तनको नारा दिएर भएको जनआन्दोलनपछि मुलुकमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको उनले बताए ।
‘ठेक्कापट्टा र सार्वजनिक खरिदको विषलाई नीतिगत विषय बनाइ उन्मुक्ति दिन मन्त्रीपरिषद्बाट निर्णय गराउने प्रवृत्तिले व्यवस्थालाई नै भ्रष्ट बनाउँदै लगेको छ,’ उनले भने, ‘यसको ज्वलन्त उदाहरण गोकुल बास्कोटा अडियो प्रकरण हो भन्ने प्रष्ट भएको छ ।’
अहिलेको राजनीतिक अभ्यासले व्यक्ति र दलमात्र होइन, व्यवस्थाकै भ्रष्टीकरण भइरहेको उनको भनाइ थियो । अनियमितताका लागि कानुन बाधक भए सरकारले बहुमतका आडमा कानुनै परिवर्तन गरिदिने प्रवृति देखिएको अध्यक्ष थापाले बताए । सरकारले भ्रष्टाचारको अनुसन्धान, काराबाही गर्ने र न्याय दिने निकायमा पार्टीको प्रभावमा रहेका व्यक्तिलाई नियुक्ति दिएर भ्रष्टाचारलाई बढवा दिइरहेको उनले बताए ।
अध्यक्ष थापाले घुमाउरो शैलीमा भ्रष्टाचार अन्त्यका लागि शासन व्यवस्था परिवर्तनको आवश्यकता रहेको बताए । थापाले गोकुल बास्कोटामाथि छानबिन गर्न पनि सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस्