प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई शुक्रबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोग प्रांगणमा शुक्रबार आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका थिए ।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचिन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल छन् ।

उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी–जनजाति, ६६ खस–आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए ।

त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपांगता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।

५५० सदस्यीय प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैंजू छिन् भने सबैभन्दा बढी उम्मेरका नेपाली कांग्रेसका बलदेश शर्मा पोखरेल ७८ वर्षका निर्वाचित भएका छन् ।

प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भइ जनप्रतिनिधिको चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस्