पश्चिमी वायुको आंशिक प्रभाव, एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपाको संभावना
काठमाडौं, २० कार्तिक । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका जिल्ला तथा पहाडी उपत्यका र खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ । बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
शनिबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
शनिबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
आइतबार र सोमबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । आइतबार हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ भने सोमबार हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
यसैबीच, शुक्रबारदेखि सोमबारसम्म तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तिहार अवधिभर मौसम प्रतिकूल हुने उल्लेख्य प्रणाली नरहेको पनि महाशाखाले जनाएको छ ।






















प्रतिक्रिया दिनुहोस्