कोरोना भाइरस: चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार ११८ पुग्यो

काठमाडौं, फागुन ८ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ ।

गत मङ्गलबार एकै दिनमा यस भाइरसको सङ्क्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको थियो । बुधबारको दिन यस भाइरस सङ्क्रमणको कारण ११४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ११८ पुगेको समाचारमा जनाइएको छ ।

बिहीबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुग्नुको साथै ७४ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्