विकास बजेट खर्चको प्रगतिबारे समीक्षा हुन्छः मन्त्री पुन

काठमाडौं, फागुन ७ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विकास बजेट खर्चको प्रगतिबारे समीक्षा हुने बताएका छन् । १२ औंं राष्ट्रिय सिंचाइ सेमिनार काभ्रेको धुलिखेलमा बुधबार सुरु भएको छ । दुई दिने सम्मेलनको मन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गरेका छन् । सम्मेलन उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पुनले समग्रमा अधिकांश सरकारी आयोजनामा विकास खर्चको प्रगति आशालाग्दो नभएको भन्दै गम्भीर हुन कर्मचारीलाई निर्देशन दिए । विगतमा विकास बजेट खर्च हुन नसक्नुलाई राजनीतिक अस्थिरता, कानूनको अभाव, हड्तालजस्ता कारण देखाइने गरिए पनि ती सबै समस्या नभएका बेला विकास खर्चको प्रतिशतमा सुधार आउन नसक्नुको कारण सरकारले खोज्ने उनको भनाइ थियो ।

राजनीतिक स्थिरता भएको, कानूनी अल्झन हटेको तथा बन्द हड्ताल नभएका बेला विकास बजेट खर्च नहुनु गम्भीर भन्दै मन्त्री पुनले राजनीतिक र प्रशासनिक नेतृत्वले एक अर्कालाई आरोपित नगरी समीक्षा गर्नुपर्ने स्पष्ट गरे ।  प्रणालीमा कतै समस्या नभएका बेला पनि काम नहुनुको कारण कार्यशैलीमा कमजोरी रहेको हुनसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्