प्रचण्डले भने – अहिले नै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने योजना छैन, सपना नदेखे हुन्छ
काठमाडौं , फागुन ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले तत्काल नै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने योजना नभएको औंल्याएका छन् ।
बुधबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्ने क्रममा प्रचण्डले बाँके र बदियालाई कर्णालीमा, बारा, पर्सा, रौतहटलाई बागमतीमा तथा रामेछाप, दोलखा र सिन्धुलीलाई प्रदेश २ मा गाभ्न सकिने बताएको नेकपाका नेताहरुले बताएका थिए । तर प्रचण्डले भने यो अहिले नै सम्भव नभएको औंल्याएका हुन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आफूले प्रसंगबस मात्र त्यो कुरा भनेको उलेख गरे । प्रदेशको भूबनोट सधैं यही रहिरन्छ भन्ने ग्यारेन्टी नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने भन्दै उनले भने, ‘अहिले भर्खरै बाँके बर्दिया कर्णालीमा आइहाल्ने होइन ।’
उता बाँके बर्दियाका बासिन्दाले यी जिल्लालाई कर्णालीमै गाभ्न आह्वान गरिरहेका छन् । प्रदेश ५ मा गाभीदा सेवा र सुविधा लगाएत अन्य सहजता नभएको उनीहरुको गुनासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्