हेटौँडा–काठमाडौँ सुरुङमार्ग आफ्नो पहिलो प्राथमिकता : मन्त्री फुयाँल

काठमाडौं, फागुन ६ । वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने बताए ।

उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताउँदै मन्त्री फुयाँलले भने , ‘‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’’

साथै उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने पनि उल्लेख गरे । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।

उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिवद्ध भएर अगाडि बढ्ने प्रतिवद्धता पनि जनाए । साथै उनले यस क्षेत्रको विकासका लागि आफु निरन्तर लागि पर्ने जनाए । विकास तथा अन्य निमार्णका कार्यमा आफुले सक्दो पहल गर्ने उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्