ललिता निवास जग्गा प्रकरण– आरोपित पक्राउ गर्न बाटो खुल्यो
काठमाडौं, फागुन ५ ।ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा किटानी जाहेरी दर्ता गरेको छ ।
सीआईबीले आइतबार ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जनाएको हो ।
जाहेरी दर्ता भएसँगै उनीहरूलाई पक्राउ गरेर कारबाही अधि बढाउन प्रहरीलाई बाटो खुलेको छ। सीआईबीका प्रवक्ता तथा नेपाल प्रहरीका एसपी बेलबहादुर पाण्डेले उनीहरूविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे ।
गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो । १० महिना लगाएर तयार पारेको छानविन समितिको प्रतिवेदनका आधारमा गत साता सीआईबीले १७२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय गृहमा पेस गरेको थियो । गृहले त्यही रायअनुसार आरोपितविरुद्ध जाहेरी दिएको हो ।
गृहले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी तथा डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलगायतविरुद्ध ठगी , किर्ते र प्रचलित भ्रष्टाचार कानुनअनुसार अनुसन्धान गर्न माग गर्दै सीआईबीमा जाहेरी दिएको हो । सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार गृह मन्त्रालयका तर्फबाट परेको जाहेरीमा अब शून्यबाट अनुसन्धान अघि बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्