जेलमा रहेका महराविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
काठमाडौँ , फागुन ४ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दाको अन्तिम सुनुवाई सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो ।
जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायत आठ जनाअधिवक्ताले बहस गरेका थिए ।त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए ।
बहस सकिएकाले आइतबारै फैसला आउने सम्भावना रहेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जनाकारी दिए ।महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौँको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुङ्गो लगाउन आदेश दिएको थियो ।
महराविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौमा मुद्दा दायर भएको थियो । उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्