विद्युत चुहावट १० प्रतिशतमा सिमित, १० अर्ब रुपैंयाँ जोगियो

काठमाडौं , फागुन ४ । नेपाल विद्युत प्राधिकरण विद्युत् चुहावट १० प्रतिशत भन्दा तल कायम गर्न सफल भएको छ । यसबाट चुहावटमा खेर जाने १० अर्ब बराबरको रकम जोगिन सफल भएको छ ।
प्राधिकरणले देशव्यापीरुपमा संचालन गरेको चोरी तथा चुहावट नियन्त्रणकै परिणाम, चुहिएर जाने विद्युतको समेत आर्थिक लाभ प्राप्त भएको जनाएको छ ।

नियमित विद्युत् आपूर्तिपछि चोरी तथा चुहावटमा संलग्न समेत हच्किएको प्राधीकरणले जनाएको छ ।
प्राधीकरणका अनुसार, चालू आर्थिक वर्षको पहिलो छ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ ।

आर्थिक बर्ष २०७५र७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावट चालू बर्षको पहिलो छ महिनामा १.५० प्रतिशत विन्दुले घटाएर ९.७८ प्रतिशतमा सीमित भएको प्राधिकरणको दावी छ ।चालू बर्षमा वितरणतर्फको चुहावट ८.५० प्रतिशतमा सीमित गर्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार तथा विस्तारमा ध्यान केन्द्रित गरेको जनाएको छ ।

आव २०७२र७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५र७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको थियो ।चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने प्राधिकरणको लक्ष्य छ । सामान्यता प्राविधिक चुहावट घटाउन ठूलै मेहनत जरुरी पर्छ । तर त्यसलाई समेत क्रमशः घटाउँदै जाने प्राधिकरणको लक्ष्य रहेको छ ।

चुहावट नियन्त्रणबाट मात्रै वार्षिकरुपमा १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।विद्युतभार कटौतीको अन्त्य भई नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका प्रभावकारी कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको घिसिङले बताएका छन् ।
यसैबचि निर्देशक घिसिङले विद्युत प्राधिकरणको वार्षिक नाफा नौँ अर्ब नाघेको पनि बताए ।

काठमाण्डौमा ड्याफोडिल स्कुलले आयोजना गरेको “रेमिट्यान्स फर बेटर लाइफ” कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको बताएका छ । सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारिमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको घिसिङले बताए ।

विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरण अब लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणको सुदृढिकरणमा केन्द्रित भएको कार्यकारी निर्देशक घिसिङको भनाई छ । विद्युत प्राधिकरण लगाता तेस्रो वर्ष नाफामा गएको छ । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो ।

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुमा प्राधिकरण प्रवेश गरेका थिए । उनि आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्