राष्ट्रियसभा सांसद उपाध्यायको निधन

काठमाडौँ , फागुन २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ।लामो समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित उपाध्यायको शुक्रबार बिहान चीतवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रूपन्देहीका उपाध्याय कांग्रेसका पुराना नेता हुन् । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
उपाध्यायको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेस रुपन्देहीका नेता एवम् राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको असामयिक निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ। दुःखको यस घडीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, देउवाले भनेका छन् ।

विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वा्चित भएका उपाध्याय दुईपटक कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्