एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन

काठमाडौं, माघ २६ । नतिजा बिग्रिपछि एसइई नतिजा सुधार कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रदेश सरकारले अघिल्लो शैक्षिक सत्रमा एसइई दिएका विद्यार्थीको नतिजा बिग्रिएपछि यो कार्यक्रम लागू गरेको जनाएक.ो छ ।

गणित र विज्ञान विषयमा डी र ई गे्रड लिएपछि नतिजा सुधार गर्ने योजनासहित प्यूठानमा पनि यो कार्यक्रम शुरु भएको हो । प्यूठानमा यही माघ ५ गतेदेखि यो कार्यक्रम शुरु भएको सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख विष्णुप्रसाद भुसालले जनाकारी दिए ।

जिल्लाका १० कक्षामा अध्ययनरत २० देखि माथि विद्यार्थी रहेका विद्यालयमा यो कार्यक्रम छनोट भएको छ । कार्यक्रममार्फत जिल्लाका ७२ विद्यालयमा गणित र ३७ विद्यालयमा विज्ञान विषयमा थप कक्षा सञ्चालन भएको हो । दिनमा डेढ घण्टा एउटा विषयको गरी दैनिक तीन घण्टा पढाइ हुने कार्यालय प्रमुख भुसालले बताए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले २० देखि ४९ सम्मका विद्यार्थी भएका विद्यालयलाई २० हजार, ५० देखि ९९ सम्म विद्यार्थी भएकालाई २८ हजार, १०० देखि १९९ विद्यार्थी सङ्ख्या भएको विद्यालयलाई ३८ हजार र २०० भन्दा माथि विद्यार्थी सङ्ख्या भएको विद्यालयलाई रु ५४ हजार दिनेछ । मन्त्रालयमार्फत ५२ दिन पढाइ हुनेछ । एसइई परीक्षा नजिकिएसँगै प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख भुसालले बताए ।

त्यस्तै रोल्पाका सामुदायिक विद्यालयमा पनि यो कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका ६१ विद्यालयमा गणित र ५२ विद्यालयमा विज्ञान विषय पढाइ भएको कार्यालय प्रमुख भुसालले बताए । शिक्षाको गुणस्तरमा सुधार ल्याउन पनि यो कार्यक्रमले टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्