आज पनि कांग्रेसद्वारा संसद अवरुद्ध, मङ्गलबार सम्मका लागि स्थगित

काठमाडौं , माघ २६ । नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो ।कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

काँग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले सदन सुचारु गर्न सहयोग गर्न विशेष अनुरोध गरेका थिए । लगत्तै काँग्रेस सांसद दिलेन्द्र बडुले ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेताहरुलाई जोगाएको तर काँग्रेसका नेतालाई मुद्दा चलाएको भन्दै आफुहरुले बोल्न पाउनुपर्ने माग राखेका थिए । तर सभामुख सापाकोटाले ललिता प्रकरण संसदको कार्यक्षेत्रभित्र नपर्ने जवाफ दिँदै संसदमा छलफलका लागि ढोका खोल्न पुनः आग्रह गरेका थिए ।

त्यसपछि पनि काँग्रेस सांसद नबसेपछि सभामुख सापकोटाले माघ २८ गते मङ्गलबार १ बजे बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे । बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् काँग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले गत बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्