कमल थापा भन्छन् -प्रशासनिक संरचनाहरुमा राजनीतिक प्रभाव बढ्यो

काठमाडौं, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अधिकार दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले गरेको कार्य सकारात्मक भएको भन्दै आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त गरिनुपर्ने बताए ।

उनले कारबाही, अनुसन्धान र न्याय दिने निकायहरुमा दुई प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भागबन्डामा आफूअनुकूलको पदाधिकारी नियुक्त गरेको भन्दै प्रशासनिक संरचनाहरुमासमेत राजनीतिक प्रभाव बढ्दै गइरहेको बताए ।

भ्रष्टाचारको मुद्दामा कोही पनि निर्दोष पर्न नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने भन्दै उनले अदालतले थप अनुसन्धान गरेर मुद्दाको टुंगो लगाउनुपर्ने स्पस्ट पारे ।अध्यक्ष थापाले ‘एमसीसी’मा कुनै प्रकारको राष्ट्रघाती सम्झौता नभएकाले योजनाबद्ध ढंगले भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरे ।

देशको आर्थिक विकासको लागि अमेरिकाको आर्थिक सहायता लिनुपर्नेमा उनले जोड दिए ।उनले एमसीसीमा विवाद गरिरहनुभन्दा सम्झौतामा भएका कमी–कमजोरीहरु सच्चाएर यसलाई चाँडै पारित गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले महाअधिवेशनलाई प्राथमिकता दिएको बताए ।

राप्रपाको महाधिवेशन २०७७ साल जेठ २५ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्