बीमा कम्पनीहरुले सेवाको गुणस्तर र पहुँचमा ध्यान दिनु पर्यो: अर्थमन्त्री खतिवडा

काठमाडौँ , माघ २४ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले सेवाको गुणस्तर र पहँुचमा ध्यान दिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गर्दै बीमा कम्पनीहरुको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिए ।

बजारमा प्रतिस्प्रधा बिना नै बीमा प्रिमियम तोक्दा बीमाको दर उच्च रहेको बताउँदै त्यसमा सुधार गरेर जानुपर्नेमा उनले जोड दिए ।

अर्थमन्त्री खतिवडाले बीमा बजारमा माइक्रो इन्स्योरेन्स पोलिसिहरुको आवश्यकता रहेको र त्यसमा बीमा कम्पनीहरुलाई सोच्न समेत आग्रह गरे । उनले सरकारले माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउने योजना बनाएको समेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मात्र सुरक्षा गर्ने नीति ल्याएको तर कसरी बजार विस्तार गर्न सकिन्छ भन्नेमा ध्यान नदिएको बताए । उनले बीमा समितिले इन्स्योरेन्सको न्यूनतम दर तोक्दा इन्स्योरेन्स प्रिमियम बढेको बताए ।

बीमा कम्पनीको संख्या धेरै भएपनि प्रतिस्प्रधा नहुँदा सस्तो र गुणस्तरीय बीमा सेवाको विकास हुन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए ।

प्रतिक्रिया दिनुहोस्