कोरोना भाइरस सङ्क्रमणमा सतर्कता : रुघाखोकी र ज्वरो बिरामीको छुट्टै परीक्षण

काठमाडौं, माघ २१ । भरतपुर अस्पतालमा बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरिएको छ।

पाँचवटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ। सोमबार रुघाखोकी, ज्वरो र श्वासप्रश्वास सम्बन्धी १०० बिरामीले छुट्टै टिकट काटेर स्वास्थ्य जाँच गराएका छन्।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको हो।कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर तिवारीले जानकारी दिए।

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्। गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए। हाल दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन्। तीमध्ये ७० जति रुघाखोकी र ज्वरोको हुने गरेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्