क्यान्सर उपचार नेपालमै संभव छ : विज्ञहरु
काठमाडौं । क्यान्सर जोकोहीलाई हुन सक्छ। क्यान्सर लाग्नबाट रोकथाम गर्न सकिन्छ। क्यान्सर लागिहालेमा समयमै उपचार गरे निको हुन्छ। सुरु अवस्थाको क्यान्सर पत्ता लागेर उपचार गर्नेहरूले स्वास्थ्य लाभ गरिरहेका छन्। त्यस्ता क्यान्सर विजेताले सक्रिय जीवन बिताउँदै समाजलाई योगदान गरिरहेका छन्। नसर्ने रोगहरूमध्येको प्रमुख र धेरैलाई सताइरहेको छक्यान्सरले ।
क्यान्सर रोकथामको पहिलो दायित्व जनचेतना जगाउनु नै हो । फोक्सो, स्तन र पाठेघरका क्यान्सर बढी देखिएका छन् । यी तीनवटैको रोकथाम गर्न सकिन्छ । स्तन क्यान्सर आफंै पनि छिटो पत्ता लगाउन सकिन्छ । नुहाउने बेला जाँच गर्न सकिन्छ । गिर्खा देखिए जँचाउन जाने भन्नेबारेमा भिडियो बनाएर देखाउन सकिन्छ । फोक्सोमा हुने क्यान्सरबारे आमसञ्चारबाट जनचेतनामूलक सामग्री प्रकाशन–प्रसारण गर्न सकिन्छ । जनचेतनाका लागि स्वास्थ्यकर्मीलाई पनि तालिम दिन सकिन्छ । जनचेतनाका लागि सरकारले पर्याप्त बजेट छुट्ट्याउन आवश्यक छ। पाठेघरको मुखको क्यान्सरविरुद्ध भ्याक्सिन उपलब्ध गराउनुपर्छ ।
क्यान्सर रोकथामको विकल्प नभएकाले छिटै पहिचान गर्नुपर्छ । यसका लागि प्राथमिक तहका स्वास्थ्य केन्द्रलाई प्राथमिकता दिनुपर्छ। क्यान्सरका विषयमा चिकित्सक र नर्सलाई तालिम दिन सकिन्छ। रेफरल कहाँ जाने ? बिरामी अन्योलमा पर्न सक्छन् । त्यसका लागि सरकारले क्यान्सर उपचार केन्द्र स्थापना र विकास गर्नुपर्छ ।
स्पष्ट नीति आवश्यक छ
क्यान्सरको उपचार सहज बनाउन सरकारले काम गरिरहेको छ। तर नीति बनाएर मुलुकभरिमा चाहिने चिकित्सक, नर्सलगायत जनशक्तिको प्रक्षेपण गर्न आवश्यक छ। क्यान्सर रोकथाम र उपचारमा छुट्टाछुट्टै बजेट विनियोजन गर्नुपर्छ। हरेक प्रदेशमा क्यान्सर अस्पताल बनाइनुपर्छ। ती अस्पताल सञ्चालनमा बजेट, जनशक्ति, उपकरणको उपलब्धताबारे निर्णय गर्नुपर्छ।
सरकारी मात्र नभएर सामुदायिक र निजी अस्पतालले पनि सेवा प्रवाह गरिरहेका छन्। सबै अस्पतालबीच समन्वय गरेर ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउनुपर्छ। कुन अस्पतालमा के सेवा बढी राम्रो छ भन्नेतर्फ ध्यान दिइयो भने बिरामीको विश्वास आर्जन गर्न सकिन्छ। बालबालिकामा पनि क्यान्सर भएको छ। धेरैको ध्यान प्रौढमा हुने क्यान्सरतर्फ मात्र जाने गरेको छ। त्यसैले समग्र पक्षलाई समेटेर क्यान्सर नीति बनाई सरकारले कार्यक्रम ल्याउनुपर्छ।
उपचार नेपालमै सम्भव छ
क्यान्सर दिवसका दिनमा मात्र चासो देखाएर हुँदैन, हरेक दिन क्यान्सरबारे चासो, चिन्ता र परामर्श भइरहनुपर्छ। सरकारले उपचारमा सुविधा दिएको छ, यो विपन्न बिरामीलाई ठूलो राहत हो। एक लाखको उपचार सुविधा हात्तीको मुखमा जिराजस्तै भइरहेको छ। यतिखेर क्यान्सरमा निःशुल्क उपचार गर्न सक्ने अवस्था छैन। यो धेरै महँगो उपचार हो। निःशुल्क उपचारका लागि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन हुनुपर्छ। स्वास्थ्य बिमा क्यानसरको उपचार निःशुल्क बनाउन बारम्बार स्वास्थ्यमन्त्री र सचिवलाई भनिरहेका छौं। तर मन्त्री र सचिव फेरिरहने भएकाले हुन सक्छ– हाम्रो सुझाव कार्यान्वयन हुन सकेको छैन। सरकारी तहमा गाम्भीर्य नै देखिएन। क्यान्सर रोकथामका लागि राष्ट्रिय क्यान्सर नीति बनेको छैन। विदेशमा कार्यपत्र प्रस्तुत गर्दा कसैले तपाईंको देशको नीति के छ ? यसरी सोध्दा हामी ट्वाँ पर्छौं। सुर्तीजन्य पदार्थ नै क्यान्सर हुनुको मुख्य कारण हो। राष्ट्रिय सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सेल बनाउन बारम्बर आग्रह गरिरहेका छौं। सरकारले सुन्नुपर्छ र सेल गठन गर्नैपर्छ।
प्याथोलोजी र रेडियोलोजीमा धेरै सुधार भएको छ। विगतमा गरिनेभन्दा अहिले गरिने उपचार प्रभावकारी छ। हरेक अस्पतालमा उपचारमा पनि एकरूपता हुनुपर्छ। क्यान्सर पीडित भन्ने होइन, क्यान्सर विजेता छन्। क्यान्सर निको भएपछि सार्वजनिक रूपमा बोल्न हिच्किचाउनु हुँदैन।
नेपाल अर्बुद्ध निवारण संस्थाले सबै जिल्लामा शाखा स्थापना गर्ने लक्ष्य राखेको छ। जनचेतना कार्यक्रम गरिरहेका छौं। हजारौं स्वयंसेवकले सहयोग गरिरहेका छन्। सरकारले पनि कार्यक्रम गरिरहेको छ तर त्यो पर्याप्त छैन। क्यान्सर सर्दैन भन्ने सन्देश दिन अझै सकिएको छैन। क्यान्सरको उपचार नेपालमै सम्भव छ। निको पनि हुन्छ। मेरा नातेदारलाई पनि क्यान्सर भएको थियो, तर एकजनालाई पनि उपचार गर्न विदेश जाने सल्लाह दिएको छैन।
अस्पतालमा उपचार गर्न आएका बिरामीमा भन्दा पनि जनसंख्यामा आधारित तथ्यांक सार्वजनिक हुन आवश्यक छ। क्यान्सरबाट हुने मृत्युदर घटाउन सकिन्छ। क्यान्सरलाई निर्मूल गर्न सकिँदैन।
मुलुककै पुरानो र ठूलो वीर अस्पताल हो। मुलुकमा क्यान्सर उपचारको सुरुआत यही अस्पतालले गरेको हो। केमोथेरापी सेवा नियमित गरिरहेका छौं। २० वटा बेड छन्। सधैं भरिने गर्छ। प्यालेटिभ केयर, स्क्रिनिङ र जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं। संसारकै उत्कृष्ट मेसिन मानिने टोमोथेरापी जडान भएपछि सेवा अझ प्रभावकारी हुनेछ।अस्पतालबाट उत्पादित अंकोलोजिस्ट नै मुलुकका प्रायः सबै अस्पतालमा रहेर क्यान्सरको उपचार गरिरहेका छन्। क्यान्सरका लागि वीर अस्पतालमा एउटा विभाग मात्र भएकाले छायाँमा परेको हुन सक्छ।
सरकारको पनि आँखा गएको छैन। बजेट भए पनि मेसिन जडान हुन सकेको छैन। भर्खर बंकर निर्माण अन्तिम अवस्थामा पुगेको छ। निर्माण छिटो गर्न ताकेता गरिरहेका छौं। वैशाखमा सबै निर्माण सकिएपछि प्रभावकारी ढंगले सेवा सुरु गर्न सकिन्छ।
उपचारमा फट्को
डा.प्रकाशराज न्यौपाने, अध्यक्ष, सर्जिकल अंकोलोजी सोसाइटी अफ नेपाल
क्यान्सर उपचारमा मुलुकले फट्को मारेको छ। स्वदेशभित्रै न्यून जनशक्ति उत्पादन भए पनि विदेशमा पढेर आएकाले क्यान्सर उपचारमा संलग्न रहेर योगदान दिएका छन्। सबै विधामा सयको हाराहारीमा जनशक्ति पुग्नु ठूलो उपलब्धि हो। सर्जिकल र मेडिकल अंकोलोजीमा जनशक्ति उत्पादनमा धेरै ढिलाइ भइसकेको छ। जनशक्ति उत्पादनका लागि छुट्टै क्यान्सर इन्स्टिच्युटको टड्कारो आवश्यकता भइसक्यो।
पूर्वाधारतर्फ पनि अस्पताल खोल्ने र उपचार गर्ने क्रम बढेको छ। बेड संख्या पनि बढेको छ। उपचारमा पनि नयाँनयाँ टेक्नोलोजी प्रयोग भइरहेको छ। जेनेटिक मोलिक्युलर ल्याबको आवश्यकता छ। यसले रोग निदान गर्न सजिलो हुन्छ। सरकारले यसतर्फ सोच्नुपर्छ। केमोथेरापीका लागि आपूर्ति केन्द्र बनाउनुपर्छ। मोलिकुल डायग्नोसिस, केमोथेरापी र रेडियोथेरापीका लागि मुलुकले छुट्टै केन्द्र स्थापना गर्नुपर्ने खाँचो छ। क्यान्सर रोकथामका लागि सरकारले भ्याक्सिनलगायत बहुआयामिक पक्षमा ध्यान दिनुपर्छ। सबै कुरा सरकार वा निजी क्षेत्रले मात्र गर्न असम्भव छ। दुवै पक्षले हातेमालो गर्नुपर्छ। उपचारमा बिरामीको पहुँच र्पुयाउनुपर्छ। क्यान्सरबाट हुने मृत्युलाई घटाउनु नै आजको आवश्यकता हो। सबैले हातेमालो गर्ने हो भने रोग काबुभन्दा बाहिर जाँदैन।
विदेश जाने प्रवृत्तिमा कमी
डा. एमके पिया, अध्यक्ष, नेसनल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर
क्यान्सरको उपचार स्वदेशमै हुन्छ। तर पनि विदेश जाने प्रवृत्ति छ। विगतको तुलनामा उपचारका लागि विदेश जाने प्रवृत्तिमा कमी आएको छ। मानिस स्वतन्त्र प्राणी हो। जहाँ उपचार गर्दा सन्तुष्ट महसुस हुन्छ, त्यतै जानु स्वाभाविक पनि हो। तर पनि यतिखेर ९५ प्रतिशत बिरामीलाई मुलुकबाहिर गएर उपचार गर्नुपर्ने अवस्था छैन। भारतबाट पनि क्यान्सरका बिरामी उपचारका लागि अमेरिका जाने गर्छन्।
बिरामीलाई उपचारका लागि विदेशमा जान बाध्य हुनुमा मिडियाको पनि भूमिका छ। सबै मिडियालाई आरोप लगाएको होइन। तर केही मिडियाले नेपालमा दक्ष जनशक्ति नभएको जस्तो गरी सूचना प्रवाह गर्दा त्यसले समाजमा नकारात्मक असर परिरहेको छ। फलानो ठाउँमा गएर उपचार गर्दा निको भयो भन्ने समाचार सार्वजनिक हुन्छ। त्यो रोग त स्वदेशमै उपचार गरे निको हुन्छ।
विगतका वर्षमा भन्दा अहिले क्यान्सरका बिरामी उपचार गर्न अलि चाँडै आउन थालेका छन्। जनचेतनाका कारण यो परिणाम आएको हो। पहिले क्यान्सरको स्टेज तीन–चारको अवस्थामा बिरामी आउँथे भने अहिले स्टेज दुईको अवस्थामा आउँछन्। सुरुको अवस्थामा बिरामी उपचार गर्न आउने हो भने रोग निको पार्न सजिलो हुन्छ। जनचेतना फैलाउने सन्देशको जस मिडियालाई नै जान्छ। उपचार गर्न बाहिर जाने प्रक्रिया चलिरहन्छ, तर पछिल्लो समय बाहिर उपचार गर्न जाने चलनमा कमी आएको छ।
निजी अस्पतालले बैंकबाट करोडौं ऋण लिएर अस्पताल सञ्चालन गर्नुपरेको छ। बैंक ब्याज महँगो छ। उपकरण ल्याउँदा सरकारलाई ट्याक्स दिनुपर्छ। निजी क्षेत्रको सेवा महँगो हुनु स्वाभाविक हो। सरकारी, सामुदायिक वा निजी सबै अस्पतालले सेवालाई झन् प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो। विश्व क्यान्सर दिवसको सन्दर्भमा मात्र नभएर पटक–पटक यस खालको राउन्ड टेबल कार्यक्रम गरिरहनुपर्छ।
विश्वासको वातावरण बनाऔं
डा.ऋषिकेश नारायण श्रेष्ठ, मेडिकल डाइरेक्टर, भक्तपुर क्यान्सर अस्पताल
विगत ६ वर्षदेखि अन्नपूर्ण पोस्ट् दैनिकले पुण्य कार्य गर्दै आएको छ। मैले एउटा बिरामीलाई एकपटक उपचार गर्दा अन्नपूर्णले साइकर्ल याली र राउन्ड टेबल गरेर एकैपटकमा लाखौंलाई सकारात्मक सन्देश प्रवाह गरेर उपचार गरिरहेको छ।
क्यान्सरबाट विश्वमा ९९ लाख व्यक्तिले ज्यान गुमाउने गरेको तथ्यांक छ। यसमध्ये एकतिहाइलाई बचाउन सकिन्छ। त्यसैले पनि क्यान्सर दिवस मनाउने गरिएको हो। नेपालमा पनि क्यान्सर बढ्दै छ। यसको रोकथाम तथा नियन्त्रण अत्यावश्यक छ। रोकथामको भूमिकाका लागि आमसञ्चारको उपायोग गर्नुपर्छ। जनचेतनाका लागि बजेट विनियोजन गर्नुपर्छ।
नेपालमा सबै खालका क्यान्सरको उपचार सम्भव छ, तर विश्वासको वातावरण छैन। बिरामी र चिकित्सकबीच विश्वासको कमी छ। बिरामी र उपचार गर्ने संस्थाबीच पनि विश्वास कायम हुन सकेको छैन। मन्त्रीहरू पनि नकारात्मक भाषण गर्नुहुन्छ। नेताहरू उपचारका लागि विदेश ताक्नुहुन्छ। यसरी विश्वास भाँड्ने काम सरकारी तहबाटै हुनु दुःखद हो। उपचारका क्रममा चिकित्सकहरू पिटाइ खान्छन्। स्वास्थ्य संस्था तोडफोड हुन्छ। खै विश्वास ? यसमा जनताको दोष छैन। दोषको भागीदार सरकार नै हो। सरकारले आपसी विश्वासको वातावरण बनाउनुपर्छ।
बिरामीलाई काउन्सिलिङको आवश्यकता पर्छ। चिकित्सकले बिरामीलाई पर्याप्त समय दिइरहेका छैनन्। विश्वासको वातावरण सिर्जना गर्नुपर्छ। घरखेत बेचेर भारतमा उपचार गरी फर्केका बिरामीको उपचार पनि हामीले गरिरहेका छौं। उपचारमा विदेश जाने प्रवृत्ति रोक्नुपर्छ। यसको दायित्व मिडियाले पनि लिनुपर्छ। तीन प्रतिशत नकारात्मक पक्षलाई हाइलाइट गरेर ९७ प्रतिशत राम्रा पक्षलाई ओझेलमा पार्ने काम भएका छन्। उपचार गर्न हामी सक्षम छौं। यसर्थ चिकित्सकले बिरामीलाई आवश्यक कुराको काउन्सिलिङ गर्नुपर्छ।
बिरामीलाई भत्ता दिएर समस्याको समाधान हुँदैन। राहत रकम जति लाख बढाइदियो, डाक्टरले अप्रेसन चार्ज पनि बढाइदिन्छ। अप्रेसन चार्ज दोब्बर बढ्छ। सिटीस्क्यान, पेटस्क्यान गर्न लगाउँछ। सबै सिध्याइदिन्छ। सरकारले बिरामीलाई पैसा दिने होइन। सबै प्रदेशमा क्यान्सर सेन्टर बन्नुपर्छ। निःशुल्क उपचार गराउनेतर्फ जानुपर्छ।
जनचेतना आवश्यक
डा.आरपी विच्छा, निर्देशक, कान्ति बालअस्पताल
‘क्यान्सर लाग्यो भने मरिन्छ, निको हुने रोग होइन’ भन्ने धारणा यतिखेर पनि जनमानसमा व्याप्त छ। बालबालिकालाई पनि क्यान्सर हुन्छ भन्ने जानकारी धेरैलाई छैन। बालबालिकामा क्यान्सर लागे बाँच्दै बाँच्दैन भन्ने सोच राख्ने हाम्रो समाज छ।
कान्ति बालअस्पतालले हरेक वर्ष दुई सय नयाँ बिरामीको उपचार गरिरहेको छ। झन्डै ८० प्रतिशत बिरामीबारे जानकारी छैन। ती बिरामीलाई कसरी पत्ता लगाउने ? यो चुनौती छ। जनचेतना फैलाउनुपर्ने खाँचो छ। बिरामीलाई काउन्सिलिङ गरे पनि विभिन्न बहाना गर्छन्। बाहिर उपचार गर्न जाने भन्दै बीचैमा अस्पताल छाड्छन्। यो चुनौतीलाई समाधान गर्न कार्यक्रम गरी सातवटै प्रदेशमा सरोकारवालालाई तालिम दिन थालेका छौं।
कान्ति अस्पतालमा २८ बेडको अंकोलोजी वार्ड छ। चार बेडको डे केयर सेन्टर खोलेका छौं। बालबालिकालाई हुने लिकुमियाको उपचार प्रभावकारी रूपमा गर्छौं। बाल रक्तक्यान्सरको उपचारमा भारत, बंगलादेशमा भन्दा हामीले गुणस्तरीय उपचार सेवा दिइरहेका छौं। उपचार नपाएका बालबालिकालाई पहुँचमा ल्याउने, भर्ना भएकाहरूले बीचमै छाड्ने प्रवृत्ति हटाउने चुनौती छ। मुलुकको एक मात्र केन्द्रीय कान्ति बालअस्पतालमा सरकारको सहयोग न्यून छ। अन्य सामाजिक संघसंस्थाबाट सहयोग जुटाएर काम गर्नुपरेको छ।
लिकुमियाका बिरामीलाई पूर्ण उपचारका लागि आठ महिना अस्पताल बस्नुपर्छ। त्यो अवस्थामा आठ महिना वा त्योभन्दा बढी बाहिर बस्न सक्ने क्षमता कति नेपालीको छ ? त्यसैले क्यान्सर अस्पतालले कुरुवा घरको पनि व्यवस्था गर्नुपर्छ। क्यान्सरको सुरुवाती अवस्थामै पत्ता लगाएर उपचारको दायरामा ल्याउनुपर्ने चुनौती छ।
न्यून शुल्कमा गुणस्तरीय उपचार
डा.विजयचन्द्र आचार्य, कार्यकारी निर्देशक, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन
राज्य र जनताले धेरै अपेक्षा गरेका र मुलुकमा सबैभन्दा धेरै क्यान्सरका बिरामीलाई उपचार गर्ने अस्पताल नै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हो। यो अस्पतालमा राज्यले सबैभन्दा धेरै लगानी गरिसकेको छ।
क्यान्सर रोगको रोकथाम, निदान, उपचार, प्यालेटिभ केयर, शिक्षा सेन्टरसहितको अपेक्षा राखेर राज्यले स्थापित गरेको हो। ५६ वटाभन्दा बढी जिल्लामा क्यान्सर रोकथामका कार्यक्रम सञ्चालन गरेको छ। गत वर्ष ७० भन्दा बढी भागमा स्वास्थ्य शिविर गरेका छौं। पाँचवटा जिल्लामा स्तन क्यान्सर परीक्षणका लागि भीआईएसम्बन्धी तालिम दिएका थियौं। मुलुकभर नै क्यान्सर स्क्रिनिङको कार्यक्रम गरिरहेका छौं।
धेरै वर्षदेखि अस्पतालमा आधारित क्यान्सर रजिस्ट्री र जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको अध्ययन गरी तथ्यांक सार्वजनिक हुँदै आएको छ। क्यान्सरको उपचारको मोडालिटीमा सर्जिकल, मेडिकल अंकोलोजी, रेडियोथेरापी, हस्पिस एन्ड प्यालेटिभ केयर सर्भिस पर्छन्। १५ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्दै आएका छौं। उनीहरूलाई बस्ने तथा खाने व्यवस्था पनि अस्पतालले गर्छ। २० वर्षको इतिहासमा गत वर्ष आफ्नै फार्मेसी सञ्चालनमा ल्याएपछि औषधि सस्तो हुन पुगेको छ। बिरामीलाई राहत पुगेको छ। अस्पतालका निवर्तमान अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकालमा अस्पतालले शड्ढया थप गरी चार सय ५० शड्ढयाको बनाउन सफल भइयो। क्यान्सरको केमोथेरापी लिने बिरामीलाई सामान्यतया शड्ढया अभाव छैन। डे केयर सेवा ३६ शड्ढया र मेडिकल अंकोलोजीमा एक सय १५ शड्ढया चलाएका छौं। शड्ढया अभावमा उपचार गर्न नपाई फर्कनु पर्दैन। सर्जिकल अंकोलोजीतर्फ पनि हामीले प्रभावकारी सेवा प्रवाह गरिरहेका छौं। क्यान्सरका जटिल सर्जरी गरिरहेका छौं। एक महिनाअघि नयाँ भवनमा आठवटा अत्याधुनिक मोडुलर शल्यचिकित्सा कक्ष निर्माण गरेका छौं। एडभान्स टेक्नोलोजीको आईसीयू, पोस्ट अपरेटिभ वार्ड, हाई डिपेन्डेन्सी वार्ड, पोस्ट अपरेटिभ वार्डसहितको सेवा आरम्भ गरिसकेका छौं। नाक, कान घाँटीबाहेक अन्य शल्यक्रियाका लागि दुई साताभन्दा बढी कुर्नु पर्दैन। बिरामीलाई पालो कुर्नु नपर्ने अवस्था सबैभन्दा राम्रो हो।
रेडियोथेरापीका लागि गत वर्ष अत्याधुनिक लिनायक मेसिन जडान गरियो। अहिले तीनवटा लिनायक मेसिन, सिमुलेटरसहितको ब्राकियोथेरापी सेवा पनि उपलब्ध छ। ब्राकियोथेरापीमा चाप भएकाले शनिबार पनि सेवा सञ्चालन गरेका छौं। अबको लक्ष्य टोमोथेरापीको उपचारतर्फ छ। खुसीका साथ भन्न सक्छु– रेडियोलोजी सेवा अल्ट्रासाउन्ड, सिटीस्क्यान, एमआरआई, म्यामोग्राम, एक्सरे सेवा लिन पालो कुर्नु पर्दैन। प्याथोलोजी सेवालाई चुस्त बनाउँदै लगेका छौं। बायोप्सीका सम्पूर्ण रिपोर्ट दुई साताभित्र दिने गरेका छौं। अबको लक्ष्य मोलिकुलर जेनेटिक्स लेबलको डायग्नोसिस स्थापित गर्ने क्षेत्रमा अगाडि बढ्ने हो। सम्भवतः आगामी वर्षमा यो इच्छा पूरा हुनेछ।
सरकारी अनुदान पाएका छौं। त्यसैले न्यूनतम शुल्कमा गुणस्तरीय उपचार सुविधा प्रवाह गरिरहेका छौं। समग्रमा राष्ट्रिय क्यान्सर अस्पतालको दृष्टिले अबको दायित्व भनेको एजुकेसन सेन्टर हो। रिसर्चका क्रियाकलाप हुन्। स्नातक तहको नर्सिङ कोर्समा अंकोलोजीमा स्पेसलिटी कोर्स सञ्चालन गरिसकेका छौं। सेन्टर अफ एक्सिलेन्स, क्यान्सर इन्स्टिच्युटका रूपमा विकास गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहेका छौं। अब अंकोलोजीको फेलोसिप कार्यक्रम सुरु गर्ने तयारीमा छौं। प्याथोलोजी, रेडियोटेक्निसियन, रेडियोथेरापी टेक्निसियन सहायकस्तरको जनशक्ति उत्पादनका लागि पोखरा विश्वविद्यालयसँग संयुक्त कार्यक्रमका रूपमा सञ्चालन गर्ने योजनामा छौं। हामीले महसुस गरिरहेको दक्ष जनशक्तिको अभाव हो। यसका लागि राष्ट्रिय क्यान्सर अस्पतालको हिसाबले बीपी मेमोरियल अस्पतालले नेतृत्व लिन सक्छ। यसलाई अब क्यान्सर इन्स्टिच्युटका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ। यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु।
समन्वय र सहकार्य
डा. सुदीप श्रेष्ठ, अध्यक्ष, नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर
क्यान्सरको रोकथाम, उपचारलगायतका समग्र पक्षका लागि राष्ट्रिय नीति आवश्यक छ। बजेट, दक्ष जनशक्ति र सरोकारवाला सबै निकायबीच आपसी समन्वय र सहकार्य आवश्यक छ। स्वदेशमै उपचार भए पनि बिदेसिनुमा सामाजिक कारण जिम्मेवार छन्। यो हामीले गरेको उपज हो। अलि जटिल समस्या देखिनेबित्तिकै विदेश जाने संस्कार छ। सल्लाह परामर्श दिने र ग्रहण गर्ने चलन छ। नेपालमै उपचारपछि स्वास्थ्यलाभ गर्दा पनि दाजुभाइ तथा दिदीबहिनीले सार्वजनिक रूपमा नबोल्ने प्रवृत्ति छ।
उपचार गर्दागर्दै निधन भयो वा अन्य कुनै कारणले बिरामीको मृत्यु भयो भने आफन्त बोल्नु हुन्छ। फिल्ममा पनि सिरियलमा कुनै परिवारलाई दुःखी देखाउनुपरेमा क्यान्सरका बिरामी देखाइन्छ। मृत्युसँग दाँजेर हेर्ने प्रवृत्ति बस्यो। यसले गर्दा बिरामीको मनोबल कमजोर हुन पुग्छ। क्यान्सरको पहिचानपछि त्यससँग मुकाबिला कसरी गर्ने सोचाइले जाँच गर्न हिच्किचाउँछन्। अस्पताल जान मान्दैनन्। सामान्य व्यक्ति पनि क्यान्सर अस्पतालभित्र पस्नै चाहँदैनन्। अरू कसैले देख्यो भने सोध्छन् भनेर हिच्किचाहट मान्छन्। यो डरको उपज हामी नै हौं। नकारात्मक कुरा बढी मात्रा सार्वजनिक भयो। सकारात्मक कुरा ओझेलमा र्पयो। सकारात्मक पक्षको न निको भएका व्यक्तिले बोले न त मिडियाले पनि उचित स्थानका साथ प्रकाशित र्गयो।
क्यान्सरका बिरामीलाई विदेश पठाउन सल्लाह दिने वा सघाउने कार्य दलाली हो। नेपालमा उपचार नगर्न ब्रेनवास गर्नेहरू दलाल हुन्। भारतमा उपचार गराएपछि अन्तिम अवस्थामा नेपालमै पुनः उपचार गराउन फर्कनुहुन्छ। त्यसैले स्वदेशमै उपचार गराएर निको भएका बिरामीलाई मिडियाले सार्वजनिक गर्नुपर्छ।
सरकारी र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक छ। साझेदारी गर्नुपर्ने खाँचो छ। आपसमा परिपूरकका रूपमा काम गर्नुपर्छ। सरकारले निजी क्षेत्र र निजी क्षेत्रले सरकारको आलोचना गरेर समस्या समाधान हुँदैन।
भ्याक्सिनको व्यवस्था गरौं
डा. एलिजा श्रेष्ठ, स्त्री क्यान्सर रोग विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पताल
पाठेघरको मुखको क्यान्सर भएका बिरामीहरू उपचार गर्न निकै ढिलो आउँछन्। बिरामी र घरपरिवारमा चेतनाको अभाव भएकाले हो। त्यसैले जनचेतना फैलाउनुपर्ने आवश्यकता छ। क्यान्सरबाट जोगाउने उपाय नै जनचेतना हो। बिरामीको स्क्रिनिग भएको छैन। अस्पतालमा जचाउन आउँदा नै बिरामी डराइरहेका हुन्छन्। ह्युमन पापिलोमा भ्याक्सिन सरकारी तवरबाट लगाउने व्यवस्था गर्नुपर्छ।
हरेक किशोरीलाई भ्याक्सिन लगाउने कार्यक्रमलाई वार्षिक तालिकामा समेट्नुपर्छ। स्कुले बालिकालाई भ्याक्सिन लगाउन सके अबको १० वर्षपछि बिरामीको संख्या घट्न सक्छ। महिलालाई क्यान्सर भएको पुष्टि भएपछि पतिले सहयोग गर्नुको साटो दुव्र्यवहार गर्ने वा सम्बन्ध–विच्छेद गर्ने प्रवृत्ति छ। अन्नपूर्ण पोष्टबाट













प्रतिक्रिया दिनुहोस्