वडाबाट केन्द्रमा आएका सबै फाइल शून्य बनाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, २९ बैशाख । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिइन् । उनले वडामा भएको बजेटबाट काम गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्थाका कार्यक्रम कार्यान्वयन नगर्न पनि वडा सचिवहरूलाई निर्देशन दिइन् । वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदा हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन् ।

पाक्षिक समीक्षा कार्यक्रममा उनले सम्पन्न योजनाको लाभ लागत विश्लेषण, कार्यान्वयनमा रहेका योजनाको गुणस्तर र कार्यान्वयन गर्न समस्यामा रहेका योजनाको समाधानका विषयमा कुरा गर्दै उनले तोकिएका विभागीय प्रमुखसँग समन्वय गरेर नतिजा निकाल्न आग्रह गरिन् ।

‘राजस्व संकलन कार्यलाई प्रभावकारी बनाउनु पर्नेछ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने, भएका सम्पत्तिको अभिलेखन गर्ने कामलाई प्रभावकारी बनाउनु पर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनु पर्नेछ । सामाजिक क्षेत्रका कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गर्दा सधैँ र सबै तालिममा एउटै अनुहार राख्ने प्रणाली अन्त्य गर्नु पर्नेछ । रातको समयमा सडक बत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ’, डंगोलले भनिन् ।

भूप्रशासनलाई चुस्त बनाउन, सेवाग्राहीलाई अनलाइन सेवामा अभ्यस्त गराउन, भौतिक उपस्थितिमा दिनुपर्ने सेवालाई चुस्त बनाउन पनि उनको जोड थियो । वडाको सेवामा महानगरपालिकाको मुहार देखिने भएकोले यसतर्फ संवेदनशील रहन पनि उनले सचेत गराएकी छन् ।

उपभोक्ता समितिहरुले समयमा कागजपत्र बुझाउन नसक्नु, इन्धनको मूल्य वृद्धि भएपछि निर्माण व्यवसायीहरुले योजना सम्पन्न गर्नमा ढिलाइ गर्नु, बजेट शीर्षकमा नभएका कार्यक्रमका लागि माग हुनु जस्ता विषय औँल्याउँदै वडा सचिवहरुले, सैद्धान्तिक वेरुजु फर्स्यौट, राजस्वका दर, राजस्व गणना तथा दायरा, सीसीटिभी क्यामरा जडान, सुरक्षा र सहरी व्यवस्थापनक जस्ता साझा विषयमा साझा कार्यक्रम सञ्चालन हुनुपर्नेमा डंगोलको जोड छ ।

प्रशासन विभागका प्रमुख महेश काफ्लेले जनशक्ति व्यवस्थापनलाई वैज्ञानिक बनाइने बताए । वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले, आ। व। २०८२र०८३ को अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट औँल्याएको वेरुजु घटाउने प्रक्रियामा केन्द्र र वडा सँगै बसेर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

डा. अधिकारीका अनुसार अहिलेसम्ममा महानगरपालिकाको खर्च प्रतिशत ४०।९४ र वडाहरूको ३९.३ प्रतिशत छ । सबैभन्दा धेरै खर्च गर्ने वडाले ५७।१७ प्रतिशत प्रगति हासिल गरेको छ । दोस्रोको ५६.४७ र तेस्रो वडाको ५०.६२ प्रतिशत खर्च भएको छ ।

सबैभन्दा कम खर्च गर्ने वडाको खर्च प्रतिशत १३।२१ छ । दोस्रोको १६।८१ र तेस्रो कम खर्च गर्ने वडाको खर्च प्रतिशत १७।६८ छ ।

महानगरपालिकाले वडालाई ठुला, मझौला र साना गरी ३ प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्