नायक विराज भट्टले भने -‘साङ्लोको चर्चा नेपालमा मात्रै होइन बलिउडमा पनि उत्तिकै छ

काठमाडौं, माघ १८ । नायक विराज भट्ट आफैंले निर्देशन गरेको चलचित्र माघ २४ गते रिलिज हुँदै छ । भट्टले चलचित्र ‘साङ्लो’को ट्रेलरको चर्चा भारतीय चलचित्र बजारमा पनि भइरहेको बताएका छन् । ‘साङ्लो’को ट्रेलर रिलिज भएपछि भोजपुरी र साउथ इन्डियामा राम्रो भनेर चर्चा भइरहेको उनले बताए ।

“भोजपुरी, साउथ इन्डिया र बलिउडमा पनि मेरा थुप्रै साथी छन् । भोजपुरी चलचित्रमा काम गर्दा त्यहाँ थुप्रैसँग मेरो चिनजान भएको हो,” विराज भन्छन्, “उहाँहरुले साङ्लोको ट्रेलर हेरेर कति राम्रो बनाएको भनेर भनिरहनु भएको छ ।”

सानो बजार भएका कारण बजेटमा सम्झौता गरेपनि मिहिनेत गर्न भने पछि नपरेको विराजले बताए । नेपाली चलचित्र मौलिक कथा र मिहिनेतले मात्रै राम्रो बनाउन सकिने उनको भनाइ छ ।

पहाडी परिवेशको सुख, दुःखसँगै सहरभित्रको होडबाजी, सहरमा सफल हुन मान्छेले गर्ने तिकडमको कथा चलचित्र साङ्लोमा छ । “सहरमा एकले अर्कालाई कुल्चिएर हिँड्ने, ठूलाले सानालाई थिचेर हिँड्ने प्रवृत्ति, सत्ता र शक्तिको खेल चलचित्रमा देख्न सकिन्छ,” विराज भन्छन्, “लभ, रोमान्स, एक्सनसहति चलचित्रमा सन्देश पनि छ ।”

ईश्वरले नै ठगेका व्यक्तिलाई धनाड्यले पनि ठगिरहेको यथार्थ र मान्छेले मान्छेलाई ठगेर गरेको व्यापार छ ‘साङ्लो’ देख्न सकिने उनी बताउँछन् ।
नेपाली चलचित्रमा गाडी, घोडा उडाउँन नसके पनि मिहिनेत गर्न भने कसैले पनि रोक्न नसक्ने भन्दै उनी यसतर्फ नेपाली चलचित्र उद्योगको ध्यान जानुपर्नेमा जोड दिन्छन् ।

आफूले साङ्लोमा मौलिक एक्सन गरेको भन्दै यसको प्रभाव भोजपुरी र साउथ इन्डियामा पनि पर्न सक्ने उनी बताउँछन् । प्रदर्शनमा आउन लागेको उनको चलचित्र हेर्न उनका दर्शक निकै आत्तिएका छन् ।

प्रतिक्रिया दिनुहोस्