६ महिनामा निर्यात २६ प्रतिशतले बढ्यो, आयात घट्यो

काठमाडौ, माघ १७ । पछिल्लो ६ महिनमा झन्डै ७ खर्बको आयात भएको छ भने २६ प्रतिशतले निर्यात बढेको छ । चालू आर्थिक वर्ष २०७६र०७७ को ६ महिनामा नेपालले भारत तथा तेस्रो मुलकबाट झन्डै ७ खर्ब बराबरको सामान आयात गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअुनसार चालू आवको ६ महिनामा नेपालले कुल ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार रुपैयाँ बराबरको सामान आयात गरेको हो। उक्त रकम गत आव २०७५र०७६ को पहिलो ६ महिनाको भन्दा ४ प्रतिशतले कम हो। गत आवको साउनदेखि पुस मसान्तसम्ममा नेपालले भारत तथा तेस्रो मुलुकबाट ७ खर्ब २३ अर्ब ९३ करोड ७५ लाख १९ हजार रुपैयाँ बराबरको सामान आयात गरेको थियो।

आयात घटेसँगै निर्यात भने २६ प्रतिशतले बढेको छ। चालू आवको साउनदेखि पुससम्ममा नेपालले ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको सामान भारत तथा तेस्रो मुलुकमा निर्यात गरेको छ। निर्यात रकम गत आवको सोही अवधिको भन्दा २६ दशमलव १३ प्रतिशतले बढी हो।

गत आवको पहिलो ६ महिनामा नेपालबाट ४५ अर्ब ४१ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो। यसैगरी चालू आवको पहिलो ६ महिनाको वैदेशक व्यापार पनि २ दशमलव २६ प्रतिशतले घटेको छ।

चालू आवको पहिलो ६ महिनाको नेपालको कूल वैदेशिक व्यापार रकम ७ खर्ब ५१ अर्ब ९७ करोड ३४ लाख ७० हजार रुपैयाँ छ। चालू आवको कूल वैदेशिक व्यापार रकमको आयातको हिस्सा ९२ दशमलव ४ प्रतिशत र निर्यातको हिस्सा ७ दशमलव ६ प्रतिशत छ। तर, गत आवको सोही अवधिको वैदेशिक व्यापारमा आयातको ९४ दशमलव १ प्रतिशत र निर्यातको हिस्सा ५ दशमलव ९ प्रतिशत थियो।

यस्तै पुस मसान्तसम्म सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। भारतसँग मात्रै ३ खर्ब ८३ अर्ब ६९ करोडको व्यापार घाटा भएको देखिएको छ। भारतबाट ४ खर्ब २३ अर्बको आयात हुदाँ जम्मा ४० अर्बको सामान भारत निर्यात भएको छ।

यस्तै चीनबाट सोही अवधिमा १ खर्ब १८ अर्बको आयात हुँदा १ अर्ब १ करोडको मात्रै निर्यात हुदाँ १ खर्ब १७ अर्बको व्यापार घाटा छ।

प्रतिक्रिया दिनुहोस्