वायुसेवा निगमलाई दिएको कर्जामा जोखिम छैन, समयमै ऋण तिर्छ : अर्थमन्त्री

काठमाडौं, माघ १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्तानीको प्रक्रिया सुरु भइसकेकोले जोखिम कम हुँदै गएको बताएका हुन्।

‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले निगमले समयमै ऋण तिरिसक्ने विश्वास सरकारले गरेको बताए। उनले निगमको अन्तरिक व्यवस्थापनका कारण केही ढिला भएपनि समयमै भुक्तानी गर्ने विश्वास आफूले गरेको बताए। उनले लगानी कोषको प्राथमिकताअनुसार लगानीको सीमा तोकिएको र वायु सेवा निगमलाई सरकारले ग्यारेन्टी दिएपछि मात्रै कर्जा दिएको बताए।

बैठकमा विधेयकका विभिन्न दफामा संशोधन प्रस्ताव राखेका सांसद दिव्यमणि राजभण्डारीले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा गरेको लगानी डुब्न लागेकाले ऐनमार्फत त्यस प्रकारका लगानी गर्न नदिने व्यवस्था गर्नुपर्ने बताए।

उनले सरकार ग्यारेन्टी बसेको भएपनि निगमले कर्जा भुक्तानी गर्न नसकेकाले जोखिम बढेको बताए। बैठकमा सांसद सुरेन्द्रप्रसाद पाण्डेले संसदबाट पास गरेर नेपाल वायुसेवा निगमलाई सरकारको ग्यारेन्टीमा लगानी कोषबाट कर्जा उपलब्ध गराएकोले निगमले भुक्तानी गर्न नसकेपनि कोषलाई कुनै नोक्सानी नहुने बताए।

उनले निगमले कर्जा तिर्न नसके सरकारले तिर्नुपर्ने बताए। त्यस्तै, समितिको बैठकले ‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमा समान्य संशोधनसहित छलफल टुंग्याएको छ।

प्रतिक्रिया दिनुहोस्