“वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ ” : पूर्वराष्ट्रपति यादव

काठमाडौं, माघ १५ । पूर्वराष्ट्रपति डा रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने औंल्याएका छन् ।तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो औंल्याएका हुन् ।

विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गर्दै उनले वनजङ्गल नेपालको सम्पत्ति भएकाले वनजङ्गल जोगाउन सरकारलाई आग्रह गरे ।

विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको भन्दै पूर्वराष्ट्रपति यादवले भने , “पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ, वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहेको छ ।” यस्तो गर्नु उचीत हुँदैन ।

उनले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएको बताए पनि चुरे भएर राजमार्ग बनाउने तयारी भएकोमा दुखेसो पोखे । उनले झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको उल्लेख गर्दै भने, “वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ ।”

प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले प्रकृतिको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उनको भनाई रहेको थियो । पछिल्लो समय नेपालका वनजंगल फडानी हुने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्