शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब विजयी

काठमाण्डौँ, १३ फागुन । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब विजयी भएको छ । सोमबार भएको खेलमा पुलिसले एपीएफ क्लबलाई एक शुन्य गोल अन्तरले हराएको हो ।

जारी लिगमा पुलिसको यो चौथो जित हो । जसका कारण पुलिस शीर्ष पाँच स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पुलिसले एपीएफमाथि प्रभावशाली खेल खेलेको थियो । उसको जितमा भोला सिलवालको एकमात्र गोल निर्णायक बनेको हो । खेलको छैटौं मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई एपीएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए ।

त्यसपछि ११ औं मिनेटमा पुलिसले पेनाल्टी पायो । निरकुमार राईको कर्नरबाट आएको बललाई भरत शाहले हान्न खोज्दा एपीएफका राजन गुरुङले डिबक्समा लडाएका थिए । जसका कारण पुलिसले पेनाल्टी पायो । पेनाल्टीको मौकालाई भोलानाथ सिलवालले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाए ।

एक गोलले पछि परेको एपीएफले ३९ औं मिनेटमा बराबरी गर्ने मौका पाएको थियो । एपीएफका आशिष लामाको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

४२ औं मिनेटमा एपीएफका रमेश दंगालीको प्रहार पनि पोष्ट नजिकैबाट आउट भयो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले ४९ औं मिनेटमा राम्रो अवसर खेर फाल्यो ।

पुलिसका रवी पासवानको पासमा निरकुमार राईले गरेको प्रहारलाई एपीएफका सुदिप सिख्राकारले गोललाइनबाट बचाए । त्यसपछि एपीएफ खेलमा फर्कन सकेन भने पुलिसले पनि पाएका मौकाको सुदपयोग गर्न सकेन ।

खेलको इन्जुरी समयमा एपीएफको प्रहारलाइ पुलिसका गोलकिपरले रोके । यो जितले पुलिसले नौ खेलमा चार जित दुई बराबरी र तीन हारका साथ १४ अंक बनाएको छ । जसका कारण पुलिस शीर्ष पाँचमा पुगेको छ । एपीएफको लिगमा यो छैटौं हार हो ।

प्रतिक्रिया दिनुहोस्