हामीले हासिल गरेको उपलब्धी दुनियाँको कुनै किताबमा पाइँदैन : प्रचण्ड

काठमाडौं, माघ ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा शनिबार ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।

विचार र कार्यदिशामा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढङ्गबाट अघि बढ्न नसक्ने उनले उल्लेख गरे । ‘विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ’, उनले भने, ‘विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।’

समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढङ्गको क्रान्ति गरिएको उनको भनाइ थियो । ‘हामीले नेपालमा जे उपलब्धि हासिल ग¥र्यौं, त्यो दुनियाको कुनै किताबमा पाइँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।’

पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उनको भनाइ थियो । “राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ”, अध्यक्ष प्रचढडले भने ।

नेपालमा कम्युनिष्ट आन्दोलनको उठान, सङ्घर्ष तथा वैचारिक विषयवस्तु समेटिएको यस पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पु¥याउने उनको विश्वास थियो । अध्यक्ष दाहालले नेकपाको इतिहास, कार्य्दिशा विकासका शृङ्खला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे पार्टी पङ्क्तिमा थप प्रष्टता ल्याउन मद्दत मिल्ने बताए ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट विचार विकासको शृङ्खलालाई पुस्तकमा समेटिएकाले सबैका लागि अत्यन्त उपयोगी रहेको बताए । जनतालाई सार्वभौम बनाउने राजनीतिक प्रणाली नै ‘जनवाद’ भएको उल्लेख गर्दै उनले पुस्तकमा समाजवादको तयारीको चरण ‘जनवाद’ हो भन्ने विषयलाई व्यापक विश्लेषण गरिएको बताए ।

पुस्तकका सम्पादक उपाध्यायले नेकपाको ७० वर्षे इतिहासलाई पुस्तकमा समेटिएको बताए । अर्का सम्पादक तिमिल्सिनाले नेकपाको ऐतिहासिक दस्तावेजलाई सङ्कलन गरेर नेता कार्यकर्तालाई पार्टी कार्य्दिशाका बारेमा जानकारी होस् भने पुस्तक तयार गरिएको बताए । नेकपाको पहिलो पर्चादेखि एमाले–माओवादी एकतासम्म पुस्तकमा नेकपाको स्थापनादेखि एकीकृतको अवस्था, कम्युनिष्ट आन्दोलनको विभाजनपछि विभिन्न समूहहुँदै पूर्वएमाले र पूर्वमाओवादीको धाराको विकासका ऐतिहासिक निर्णय र त्यसको दस्तावेजीकरण एवं पार्टी एकता प्रक्रियापछि नेकपाले गरेका निर्णय लिपिबद्ध गरिएको छ ।

मुख्यतः चार खण्डमा रहेको पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाद्वारा जारी चुनावी घोषणापत्र, २०१७ सालको फैजी ‘कू’ पछि नेकपाले जनताका नाममा गरेको अपिललगायत विषय समेटिएको छ ।

दोस्रो खण्डमा झापा विद्रोहदेखि नेकपा (एमाले)को गठन, मदन भण्डारीको जनताको बहुदलीय जनवादको पृष्ठभूमि, त्यसको संश्लेषण एवं विकास प्रक्रियासँग सम्बन्धित दस्तावेजका मुल अंश समावेश गरिएको छ । तेस्रो खण्डमा सेक्टर काण्डदेखि माओवादबारे संश्लेषण, जनयुद्धको तयारी, विकास हुँदै २१औँ शताब्दीमा जनवादको विकास, १२ बुँदे समझदारी, शान्ति सम्झौता, हेटौँडा महाधिवेदनमा संश्लेषण गरिएको समाजवादी क्रान्तिको कार्य्दिशालगायत दस्तावेजन समेटिएको छ ।

यसैगरी चौथो खण्डमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनदेखि पार्टी एकताको घोषणा, पार्टीका राजनीतिक प्रतिवेदनलगायत विषय समावेश गरिएको छ । नेकपाको समाजवादउन्मुख जनताको जनवादको वैचारिक आधार एवं अन्तर्वस्तु र नेकपाको ७० वर्षको इतिहास बुझ्न पुस्तकले सहयोग पु(याउने सम्पादक तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्