राष्ट्रिय वाणिज्य बैंकलाई मर्जरमा जान अर्थमन्त्रीले दिए सुझाव

काठमाडौं , माघ १० ।  अर्थमन्त्री डा . युवराज खतिवडाले वाणिज्य बैंकहरुलाई मर्जरमा जान सुझाव दिएका छन् । उनले मर्जरमा जान चाहने बैंकहरुलाई आवश्यक परे अन्य सुविधा दिन पनि तयार भएको उल्लेख गरे ।राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो सुझाव दिएका हुन् ।

अर्थमन्त्री  खतिवडाले कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् । उनले कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन आग्रह गरे  ।

साथै उनले कर्जा र जीडीपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरूलाई सचेत गराएका थिए ।

उनले नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरूले कर्जाको आयतन बढाउनेभन्दा पनि उत्पादन मुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन आग्रह गरे ।

उनले अहिलेको अवस्थामा कुल गार्हस्थ उत्पादनको गणना विधि परिमार्जन गर्नुपर्ने अवस्था समेत आएको बताए । तर पनि बैंकहरूले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उनको धारणा थियो ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गरे । उनले निक्षेपमा कम ब्याजदर दिएकाले बचतकर्ता निराश हुनसक्ने र बचत बाहिरिन सक्ने भएकाले ध्यान दिन आग्रह गरे ।मन्त्रिपरिषदबाट निर्णय गराएर दोहोरो कर हटाउने र कर छुटको सीमा बढाउने तयारी भइरहेको मन्त्री खतिवडाले जानकारी दिएका हुन् ।

मासिक उच्चआय भएका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा उनीहरुलाई दोहोरो कर लाग्ने भएकोले बैंकिङ क्षेत्रबाट यसको विरोध हुँदै आएको थियो । साथै, बैकिङ क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा जान मानिरहेका छैनन् ।

उनले दीर्घकालीन रूपमा ठुला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्