पछिल्लो समय अर्थमन्त्री डा. खतिवडा नम्र भएपछि निजी क्षेत्रमा उत्साह

काठमाडौं , माघ ८ । अर्थमन्त्री युवराज खतिवडामा पछिल्लो समय देखिएको नम्र व्यवहारले निजी क्षेत्रमा उत्साह छाएको छ ।

राष्ट्र बैंकका पूर्व गर्भनरसमेत रहेका उनी पछिल्लो समय निजी क्षेत्रहरुसँगको भेटघाट गर्दै समस्या सुन्ने र समाधानको उपाय पहिल्याउने कार्यमा लागेका छन् । निजी क्षेत्रप्रति अनुदार रहेको भन्दै आलोचना खेप्दै आएका अर्थमन्त्री खतिवडाले निजी क्षेत्रका उद्योगी, व्यवसायीका प्रतिनिभिहरुसँग भेटघाट गर्न थालेका हुन् ।

सोमबार राष्ट्र बैंक र बैकर्स संघका प्रतिनिधिसँग भेटघाट गरेका उनले बैंकहरुले अहिले कमाएको नाफा अधिक नभएको जानकारी दिए । अहिले १२ अर्ब भन्दा कम पुँजी भएको बैंक भेट्न मुस्किल रहेको भन्दै अर्थमन्त्री डा. खतिवडाले १५ अर्ब पुँजी भएको बैंकलाई १५ प्रतिशत प्रतिफल दिन पनि २ अर्ब नाफा चाहिने जानकारी गराए ।

बैंकर्सलाई निजी क्षेत्रको विश्वास बढाउने गरी काम निर्देशन दिँदै उनले यसका लागि सरकारले के गुर्नपर्छ अध्ययन गरेर सुझाव दिन संघलाई भनेका छन् ।

यसअघि प्रदेश २ मा आयोजित निजी क्षेत्रको कार्यक्रममा सहभागी भएका उनले नेपाल अटोमोबाईल डिलर्स एसोसिएसनका नवनिवार्चित पदाधिकारीसँग पनि भेटेर उनीहरुको समस्याबारे जानकारी लिएका थिए । साथै उनले लगानीमैत्री वातावरण तयार पार्नका लागि छलफलमा निजी क्षेत्रलाई बोलाएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्