एनआईसी एशिया बैंकले कमायो २ अर्ब
काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । जारी विवरण अनुसार बैंकका अधिकांश परिसूचकहरु उत्साहजनक रहेको बैंकले जनाएको छ । बैंकको नाफा सो अवधिसम्ममा २ अर्ब नाघेको छ ।
पुस मसान्तसम्ममा बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३ प्रतिशत अर्थात ५० करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।
बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३६ प्रतिशत बढेर २ अर्ब ९० करोड पुगेको छ। त्यसैगरी, बैंकले कर्जातर्फ १५ अर्बले वृद्धि गरी १ खर्ब ६५ अर्ब र निक्षेप सङ्कलनतर्फ ६ अर्बले वृद्धि गरी १ खर्ब ८६ अर्ब र्पुयाउन सफल भएको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको बैंकले बताएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ। त्यसैगरी, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५५ कर्जा लगानी पुर्ण रुपले पालना गरेको छ। विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कूल कर्जा बैंकको कूल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ ।
निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको बैंकले जनाएको छ। बैंकको कल निक्षेप हाल कूल निक्षेपको ९.४५ रहेको छ । बैंकले चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ। यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अवधिमा ६ अर्बले बढेको छ। निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आम्दानी २१ प्रतिशतले बढेर ४१ रुपैयाँ ६१ पैसा तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत र्पुयाएको छ।
बैंकले ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् २१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्